बैशाख ७, २०८१ शुक्रबार

दमक अस्पतालमा एकीकृत उपचार कक्ष

दमक । नेपालमा यसअघि उन्मूलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोगलगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्देश्यले दमकमा एकीकृृत उपचार कक्षको शुभारम्भ गरिएको छ ।

फेयर मेड नामक गैरसरकारी संस्थाको सहयोगमा दमक अस्पतालमा सो कक्ष स्थापना गरिएको हो । सरकारले उन्मूलन भएको घोषणा गरिएका छाला सम्बन्धिका ती रोग पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा पछिल्लो समय बढिरहेको तथ्याङ्क सार्वजनिक भएपछि विश्व स्वास्थ्य सङ्गठनको समेत ध्यान त्यसतर्फ केन्द्रित भएकाले ती रोगको उपचारमा ध्यान गएको हो ।

दमक नगर प्रमुख रामकुमार थापाले सो कक्षको उद्घाटन गर्दै सो सेन्टरबाट दमकवासीले मात्रै नभएर आसपासका अन्य जिल्लाका पालिकावासीले समेत लाभ लिन सक्ने बताउनुभयो । उहाँले दमक अस्पतालको व्यवस्थापन र सेवा सुविधाका विषयलाई लिएर सामाजिक सञ्जालमा आएका टीका टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त र प्रभावकारी बनाउन आवश्यक छ भन्नुभयो ।

अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णताः दिएर आवश्यक पर्ने अन्य उपकरण तथा बन्दोबस्तीका सामग्रीको व्यवस्थापन काममा लागेको पनि उहाँले जनाउनुभयो । कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाइँले रोग लागेपछि उपचार गर्नु आवश्यक भए पनि रोग लाग्नै नदिने उपायको अवलम्बन गरिनु आवश्यक रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा फेयर मेडकी राष्ट्रिय संयोजक निर्मला शर्माले दमक नगरपालिकाका अधिकृत नगेन्द्र भट्टराईलाई सो कक्षमा आवश्यक स्वास्थ्य सामग्रीह हस्तान्तरण गर्नुभयो । उहाँले त्यस अवसरमा नगरपालिका र दमक अस्पतालले फेयर मेडसंगको सहकार्यलाई निरन्तरता दिँदै स्वास्थ्य सेवा अझ उपलब्धिमूलक र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य ख्यामकुमारी परियार, शारदा भट्टराई, दमक १ का वडाध्यक्ष हरि न्यौपाने, वडा नं ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल, वडा नं ८ का वडाध्यक्ष दिपेश दाहाल, ९ का वडाध्यक्ष कुवेर भट्टराई, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा प्रकाश शर्मा, नमस्ते पब्लिक हस्पिटलका मेसु डा बेदनिधि खतिवडा, निम्स नेशनल हस्पिटलका मेसु डा नवीन सिंहलगायत स्वास्थ्य सरोकारवाला सहभागिता रहेको थियो ।

प्रकाशित मिति : पुष ४, २०७९ सोमबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]