चैत्र १५, २०८० बिहीबार

फरक भूमिका रूचाउने विपीन

काठमाडौं । अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान स्थापित ग¥यो । फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् ।

उनले हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गरेका छन् । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमान्को भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गरे । यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमान्कै भूमिकमा ल्याए । उक्त भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गरे । फिल्ममा उनी अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् ।

उनी वास्तविक उमेरभन्दा बढी देखिएका छन् । प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन् । ‘म चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने, ‘निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिन । यद्यपि म भने फरकरुपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु ।’ उनी फिल्ममा दयाहङ राईको समेत अभिभावक बनेका छन् । प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उनको गुनासो छ ।

अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावितछन् । ‘हामीले केही फिल्ममा सँगै काम गरेका छौँ । उहाँको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ’, अभिनेता राईले भने । अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गरेका छन् । उनी दुई अभिनित पछिल्लो फिल्म ‘फूलबारी’ आउँदो फागुन ५ गते प्रदर्शन हुँदैछ । रासस

प्रकाशित मिति : पुष ५, २०७९ मंगलबार  १ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]