जेष्ठ ६, २०८१ आईतबार

जेल बस्नेहरुलाई ६० रुपैयाँले पुग्दैन : इन्दिरा राना मगर

नागरिकहरु मुद्धाहरु डस्टपिनमा फालेको देखेर आफै राजनीतिमा लागे

बिर्तामोड । वर्षौदेखि सामाजिक जीवन विताइरहेकी इन्दिरा राना मगर नयाँ जिम्मेवारीसहित प्रतिनिधिसभा प्रवेश गरेकी छन् । पहिलो पटक संसद प्रवेश गरेकी मगरले शनिवार आफ्नै गाउँमा पत्रकार भेटघाटको आयोजना गर्दै सबैलाई नयाँ जिम्मेवारीका निमित्त धन्यवाद दिएकी छन् ।

सयौं बालबालिकाको आमा इन्दिरा राना मगर पूर्णकालिन सामाजिक अभियान्ता हुन् । उनले बेसहारा बालबालिकाको हेरचाह देखि मानवअधिकारको क्षेत्रमा योगदान गर्दै आएकी थिइन् । अकास्मात राजनीतिमा प्रवेश गरेर समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारी प्राप्त गरिन् । नयाँ जीवनबारे पत्रकार सामु छर्लङ्ग पारेकी छन् । आमा इन्दिराबाट अब ‘माननीय इन्दिरा राना मगर’ का रुपमा परिचय पनि बदलिएको छ ।

मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेद्वार बनेकी मगरले आफ्नो उपस्थिति नीति निर्माणकै तहमा देखेका कारण फरक भूमिका प्रस्तुत भएको बताएकी छन् । पार्टी राजनीति नगर्ने सोचका साथ सामाजिक सेवामा क्रियाशिल मगरलाई उनको सामाजिक योगदानको लोभले राष्ट्रिय स्वतन्त्र पार्टीले तानेको हो । नभन्दै, उनलाई टिकट दिइयो र समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाइएको छ ।

जेल जीवन विताइरहेका अभिभावकका सन्तानको हेरचार, शिक्षा, स्वास्थ्यको रेखदेख गर्दै आएकी उनले अब प्रतिनिधिसभाबाट बालअधिकार, बेसहारा बालबालिकाको सवाल र महिला अधिकारका बारे सशक्त आवाज उठाउने बताइन् । पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, – ‘पहिले मुद्धाहरु उठाइदिन आग्रह गर्दै डेलिगेशन गइन्थ्यो । अब आफै मुद्धा उठाउछु ।’ लामो सामाजिक सेवाको क्रममा आफुले दर्जनौं मुद्धाहरु उठाउँदा आफ्नो मुद्धाहरु डस्टपिनमा फालिएको उनले स्मरण गरिन् । त्यसैले मुद्धालाई ठाउँमै राख्न राजनीतिको बाटो रोजेको उनको भनाई छ ।

पहिलेदेखि राजनीतिमा लागेका व्यक्तिहरुले धेरै किसिमका मुद्धाहरु उठाइरहनु भएको छ । ‘ मैले सामाजिक अभियानहरुमा धेरै समस्या देखेको छु । अब नीतिगत रुपमा त्यस्ता समस्याहरुको समाधान गर्ने मेरो भूमिका हुनेछ’, उनले भनिन् । कोभिडको बेलामा खान नपाएका भोका नागरिकलाई खानाको व्यवस्था गर्दा मलाई रोक्ने काम भयो, सामाजिक सेवा गर्दा पनि समस्या छ भनेपछि नीतिगत तहमै धेरै सुधारको खाँचो उनले देखेको बताइन् ।

उनले जेल जीवन विताइरहेका व्यक्तिहरुका लागि सरकारले दिने सुविधा कम भएको बताइन् । ६० रुपैयाँले जीवन चल्दैन, कम्तिमा पनि हामीले मानव अधिकारको ख्याल गर्नूपर्छ, उनले थपिन्, – दैनिक जीवन चल्ने गरि जेल बसेका नागरिकहरुलाई सुविधा दिनुपर्छ । अन्य क्षेत्रमा हुने केहि खर्च कटौति गरेर भएपनि उनीहरुको हेरचाहमा सरकारले प्राथमकिता दिनुपर्ने उनको भनाई छ ।

बन्दी सहायता सञ्चालन गर्दै बेसहारा बालबालिकाको हेरचाहमा क्रियाशिल उनले विधालयमा सरकारले दिन थालेको खाजाको रकम पनि पर्याप्त नभएको बताइन् । कक्षा ६ सम्म सरकारले एक विद्यार्थी बराबर १५ रुपैयाँ दिने गरेको भन्दै उनले कक्षा १० सम्मका विद्यार्थीलाई पोषणयुक्त खाजाका लागि पर्याप्त रकम दिनुपर्ने बताएकी छन् । उनले आफ्नो संसद् प्रवेश यस्तै मुद्धाहरु उठाउनका लागि भएको सुनाएकी छन् । सरकारले देशका कर्णधार भन्ने बालबालिकालाई बेलैबाट राम्रो लगानी गर्नुपर्ने उनको बुझाई छ । विशुद्ध सामाजिक सेवामा रहेर काम गरेको अनुभव सुनाउदै मगरले अब देशमा नीति निर्माणकै तहबाटै धेरै समस्याहरु समाधान गर्दै जाने बताइन् ।

राज्यले अशक्त, पूर्णअशक्त नागरिकहरुका लागि विशेष योजना निर्माण गरेर काम गर्नुपर्ने उनको सुझाव छ । पत्रकारसँग उनले भनिन्, सामाजिक जीवन अत्यन्तै स्वतन्त्र हुन्छ, राजनीतिक जिम्मेवारीमा रहेर काम गर्दा अलि असजिलो हुदो रहेछ ।

प्रकाशित मिति : पुष ९, २०७९ शनिबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]