जेष्ठ ६, २०८१ आईतबार

नयाँ सरकारको जिम्मेवारी

सम्पादकीय
दुई दिनअघिसम्म नेपाली कांग्रेसको सरकार बन्छ भन्ने सबैको विश्वासलाई केहि बेरको राजनीतिक घटनाक्रमले उथलपुथल बनायो । राजनीतिक उथलपुथलका बिच माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए । उनले ४४ औं प्रधानमन्त्रीका रुपमा राष्ट्रपतिबाट सपथग्रहण गरिसकेका छन् । सँगै तीन जना उपप्रधानमन्त्री समेतले सपथग्रहण गरेर कार्यभार सम्हालेका छन् । चुनौतिका बिच बनेको नयाँ सरकारका सामुन्ने धेरै कार्यभार छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुख्य भूमिकाका कारण बनेको नयाँ समिकरण र नयाँ सरकारका सामुन्ने धेरै समस्याहरु समाधान गर्नुपर्ने जिम्मेवारीहरु छन् ।

अहिले चीनमा कोभिड महामारी फेरि फैलिरहेको छ । छिमेकी राष्ट्रमा भइरहेको संक्रमण नेपालमा पनि उत्तिकै जोखिम छ । यो जोखिम नियन्त्रणका लागि सरकारले पहिलो चरणमा काम गर्नुपर्ने देखिन्छ । सन् २०१९ देखि कोरोना महामारीका कारण मुलुक अझै उठ्न सकेको छैन । फेरि संक्रमण फैलियो भने देश ठुलो समस्यामा पर्नेछ । मानवीय र आर्थिक रुपमा ठुलै क्षति हुन सक्छ । दोस्रो प्राथमिकतमा मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरिनुपर्छ । नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनको सरकारपछि मुलुकको अर्थतन्त्र डमाडोल छ । यसको सुधार अनिवार्य छ ।

उधोग व्यवसायको क्षेत्र देउवा नेतृत्वको सरकार रहुन्जेल तहसनहस भयो । व्यापारीहरु पलायन हुने अवस्था बन्यो । अहिले पनि उधोगी व्यवसायी ठुलै संकट व्यहोरिरहेका छन् । यसैले नीतिगत रुपमै अहिलेको अर्थतन्त्र सुधारका लागि सरकार काममा भिड्नुपर्ने देखिन्छ । सरकारका अन्य नियमित कामहरु छदैछ । तर, अबको सरकारलाई देउवा नेतृत्वको सरकार जस्तो हुने छुट छैन । यो ताजा जनादेशबाट बनेको सरकार हो । यो सरकार साच्चै चलायमान र जनताले महसुस गर्न सक्ने हुनुपर्छ । शिक्षा, स्वास्थ्य र विकासको सवालमा सरकारले काम गरेर देखाउनैपर्छ । प्रधानमन्त्री , मन्त्री बन्नु मात्र ठुलो कुरा होइन, जनताले नयाँ सरकारको अनुभव गर्न सकुन् । त्यसका लागि जनताको प्रभावकारी खवरदारी पनि उत्तिकै आवश्यक छ ।

प्रकाशित मिति : पुष १२, २०७९ मंगलबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]