जेष्ठ ६, २०८१ आईतबार

सहकारीको दायित्व

सम्पादकीय

बैंक भन्नासाथ धनाड्यहरुका लागि र सहकारी भन्नासाथ मध्यम वा विपन्नहरुका लागि स्थापना भएका वित्तिय संस्था हुन् भन्ने बुझाई छ । वास्तवमा ससानो पुँजीको संकलन र परिचालनका लागि सहकारीहरु स्थापना भएका हुन् । सामान्य आम्दानी गरेर बचाएको थोरै रकम जम्मा गर्ने सहकारी हुन भन्ने आम बुझाई छ । तर, पछिल्लो समय सहकारीहरु पनि अर्व क्लवमा प्रवेश गर्न थालेका छन् । कतिपय सहकारी ठुलो कर्जा लिएर भए पनि अर्व क्वल प्रवेश गरिरहेको पाइन्छ । आर्थिक कारोवारका दृष्टिले ठुलो देखिने तर सामाजिक जिम्मेवारीका दृष्टिले सानो देखिने कयौं सहकारी छन् । झापामा पनि सामाजिक उत्तरदायित्वका दृष्टिले एकाध सहकारी अघिअघि छन् ।

देशकै ठुलो सहकारी सहारा नेपालले ‘जीवन वरदान’ स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । जसका कारण सदस्यहरु लाभान्वित भएका छन् । उपचार नै निशुल्क गरिदिने सहाराको कार्यक्रम वास्तवमै समुदायका लागि पनि सहारा नै भएको छ । जीवन वरदान कार्यक्रमलाई बाहिरबाट हेर्दा पनि सामाजिक उत्तरदायित्वका रुपमा बुझ्न सकिन्छ । यसै प्रकारका कार्यक्रम विरलै सहकारीले सञ्चालन गरेका छन् । यस्तै, गरिव विपन्न नागरिकका लागि सहाराले आवास निर्माणमा सहयोग गरिरहेको छ । धेरै कार्यक्रमहरु प्रायः सहकारीहरुका मिल्दाजुल्दा नै छन् । सहारा आम सहकारीको बिचमा फरक देखिन्छ ।

जिल्लाका अधिकांश सहकारीहरुले जन्मदेखि मृत्यूसम्म सहयोग गर्ने प्रकृतिका साझा कार्यक्रम पनि बनाएका छन् । कुनै सहकारी कृषिमा व्यापक रुपमा लागेको पाइन्छ । दमकको मेची बहुउद्देश्यीय सहकारी सदस्यलाई आवास निर्माण गरेर हस्तान्तरण गर्दैछ । घर नभएका सदस्यहरुलाई सहुलियतमा घर उपलब्ध गराउने मेची सहकारीको कार्यक्रम प्रशंसायोग्य छ । वास्तवमा मध्यम र विपन्न परिवारको हितमा स्थापना गरिएका सहकारीहरु आफ्नो उत्तरदायित्व भुल्न हुदैन । बचतऋणमा मात्रै लागेर आफ्नो सामाजिक दायित्व विर्सने सहकारीहरु अब लामो यात्रा गर्न सक्दैनन् । केहि सहकारीहरु सामाजिक जिम्मेवारीलाई छोडेर पैसाको व्यापार मात्रै गर्दा सदस्यहरुको बिचबाट पलायन हुनुपरेको घटनाहरु छ । यसैले सहकारी आम नागरिकको हितमा लागेर सामाजिक दायित्व पुरा गर्दै अघि बढ्न जरुरी छ ।

प्रकाशित मिति : पुष १३, २०७९ बुधबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]