बैशाख १८, २०८१ मंगलबार

हल्दिवारीका निवर्तमान उपाध्यक्ष गिरीले सेकुवा पोल्न थाले

बिर्तामोड । झापा हल्दिवारीका निवर्तमान उपाध्यक्ष डम्बर गिरी यतिबेला फरक भूमिकामा देखिन थालेका छन् । गत बैशाखअघि पाँच वर्ष हल्दिवारी गाउँपालिकाको नेतृत्व गरेका गिरी अहिले नियमित सेकुवा पोल्दै गरेको अवस्थामा भेटिन थालेका छन् ।

नेकपा एमालेमा लामो समय सक्रिय राजनीति गरेका गिरी गएको स्थानीय तहको निर्वाचनमा अध्यक्षका उम्मेदवार थिए । अध्यक्षमा धेरै मतान्तरसहित गिरी रविन्द्र लिङ्देनसँग पराजित भए । निर्वाचनमा पराजय भोगेपछि केहि महिना निष्कृय जस्तै भए । उनै गिरी अहिले बिर्तामोड–१ मा साल्ट एण्ड पिप्पर खरिद गरेर होटल व्यवसायमा जमेका छन् । होटल खरिद गरेर उनी मालिकभन्दा फरक भूमिका देखिइरहेका छन् ।

होटलमा नियमित सेकुवा पोल्दै गरेका अवस्थामा भेटिन थालेका गिरीले व्यवसाय गरेर जीवन निर्वाह गर्न कुनै समस्या नहुने बताउँछन् । म सक्रिय राजनीति गर्नुअघि मेनपावर सञ्चालन गर्थे, गिरीले भने – होटल व्यवसाय मेरो सोख थियो । अहिले यसैमा नियमित खटिइरहेका छु ।

गाउँपालिकाको उपाध्यक्ष रहेर पनि प्रभावशाली भूमिका निभाएका गिरी जिल्ला, प्रदेश र केन्द्र तहसम्मका नेतासँग राम्रै सम्बन्ध बनाएका थिए । माथिल्लो तहका नेतासँग राम्रै उठबस भए पनि गिरीले मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिए । एमालेले झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेको थियो । गिरीले लिङ्देन विरुद्ध आफ्नो उम्मेद्वारी रहेको त्यसैबेला घोषणा गरेका थिए । गाउँपालिकाको उपाध्यक्ष रहँदा राप्रपासँगै जुधेर काम गरियो, अध्यक्षमा पनि राप्रपासँगै पराजित भइयो, गिरी भन्छन्, – सधैं राप्रपासँग जुधेर मैले काम गरिरहे, फेरि राप्रपाकै नेतालाई सहयोग गर्न मैले सकिन । त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिए ।

स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले झापाले गिरीलाई कारबाही गरिसकेको छ । तर, गिरीले आफु एमालेमै रहेको दावी गरेका छन् । उनले भने, म हिजो पनि एमाले, आज पनि एमाले, भोली पनि एमालेमै रहन्छु । निर्वाचनमा एमालेको निर्णय विपरित लाग्नु भयो भन्ने जिज्ञासामा जवाफ दिदैं भने – म एमालेको उम्मेदवार विरुद्ध उठेको थिईन । मलाई राप्रपाको उम्मेदवार विरुद्ध उम्मेदवार बन्दा कसरी कारबाही गर्न मिल्छ ? उनले प्रतिप्रश्न गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा रहेर काम गर्दा गिरीको आफ्नै रवाफ थियो । सम्पर्क, सम्बन्धका हिसावले उनी गाउँपालिकाको सेकेण्ड मेन मात्रै थिएनन् । गाउँपालिकामा एमालेको बहुमत भएकोले प्राविधिक हिसावमा उनी फस्टमेन सरह थिए । तर, अध्यक्षमा निर्वाचित हुन सकेनन् । अध्यक्षमा निर्वाचित नभएकै कारण गिरी अहिले फरक भूमिकामा देखिएका हुन् ।

होटलमा सेकुवा पोलेर बस्ने गिरीले काम गरेर खान लाज नहुने स्पष्ट पारेका छन् । म हिजो जनताको जनमतका कारण उपाध्यक्ष भए । अध्यक्ष बन्ने म्याण्डेड नपाएपछि व्यवसायमा फर्किए, उनले थपे । बिर्तामोडमा सेकुवा बनाउने आधुनिक प्रकृतिको भट्टी चुलो बनाएका गिरीले होटल व्यवसायलाई जमाएर अघि बढ्ने सोच राखेका छन् । त्यसैमा उनले थपे – मेरो होटलमा सेकुवा प्लेटका हिसावले होइन, केजीका हिसावले पाइन्छ ।

राजनीतिमा टिक्नका लागि व्यवसाय अनिवार्य भएको भन्दै उनले अन्य साथीहरुलाई पनि व्यवसायमा जोडन आग्रह गरेका छन् । गत असोज १ गतेबाट होटलको औपचारिक शूभारम्भ गरेर नियमित सञ्चालन गरिरहेको गिरीले जानकारी दिए । उनका अनुसार ७० लाख लगानी गरेर होटल सुरु गरिएको छ ।

भिडियोमा हेर्न यहाँ Click गर्नुहोस् ।

 

प्रकाशित मिति : पुष १८, २०७९ सोमबार  ६ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]