माघ २३, २०७९ सोमबार

कनकाईको अक्सिजन प्लान्ट सञ्चालनमा

बिर्तामोड । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई नगर अस्पतालको हाताभित्रको अक्सिजन प्लान्टको नगरप्रमुख राजेन्द्र पोखरेलले आज उद्घाटन गर्नुभयो । नगरपालिका, विभिन्न सङ्घसंस्था र व्यक्तिगत रुपमा सहयोग सङ्कलन गरी रू एक करोड ६६ लाख पाँच हजार ७०६ को लागतमा प्लान्ट स्थापना गरिएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला नगरप्रमुख पोखरेलले व्यक्तिगत रुपमा रू १० लाख उपलब्ध गराएर अक्सिजन प्लान्ट स्थापनाको अभियान सञ्चालन गर्नुभएको थियो । “मैले कोरोना बेलामा अक्सिजन अभावमा अकालमा ज्यान गुमाउनुपरेकाकोबारे विभिन्न सञ्चारमाध्यममा पढेँ–देखेँ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “त्यसैले आफैँले सहयोग गरेर प्लान्ट स्थनापको अभियान चलाएँ, धेरैले सहयोग गर्नुभयो, त्यसैको परिणाम प्लान्ट सञ्चालनमा आएको छ ।”

कोरोनाकालदेखि हालसम्म नगरपालिकाले नगरवासीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । यहाँबाट उत्पादन हुने अक्सिजन आवश्यकताका आधारमा जिल्लाका विभिन्न अस्पतालमा सहुलियत दरमा उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो । उक्त अभियानका क्रममा विभिन्न सङ्घसंस्था र व्यक्ति गरी एक सय १७ दाताबाट रू ५८ लाख ४३ हजार चार सय १३ सङ्कलन भयो । नगरपालिकाबाट रू एक करोड सात लाख दुई हजार दुई सय ९२ लगानी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

टर्कीबाट आयात गरिएको प्लान्टको शुद्धता ९५ प्रतिशतभन्दा बढी रहेको अक्सिजन प्लान्टका प्राविधिक प्रवल वाग्लेले बताउनुभयो । यो धेरै सुरक्षित रहेको उहाँको भनाइ छ । यो प्लान्टबाट एक पटकमा १२ सिलिण्डर तीन घण्टाको अवधिमा भर्न सकिन्छ । प्लान्टको क्षमता दैनिक १६० सिलिण्डर छ । कार्यक्रममा अक्सिजन प्लान्ट सञ्चालन गर्न सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । रासस

 

प्रकाशित मिति : पुष १८, २०७९ सोमबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास