जेष्ठ ६, २०८१ आईतबार

प्रहरी समुदायबीच समन्वयको खाँचो

सम्पादकीय
झापा प्रहरीको प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्न दुर्गाराज रेग्मी आएपछि पत्रकारसँगै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसँग भेटघाटलाई तीब्रता दिएका छन् । सोमवार झापाली पत्रकारहरुसँग परिचयात्मक कार्यक्रमसँगै सूझाव संकलन गरे । प्रायः झापा आउने अधिकांश प्रहरी प्रमुखहरु पत्रकारसँग चिनजान गरेरै आफ्नो काम अघि बढाउने गर्छन् । यसलाई स्वभाविक पनि मान्नुपर्छ । जिल्लाको सुरक्षा व्यवस्थामा सञ्चार क्षेत्रको भूमिका पनि उत्तिकै हुन्छ । त्यसका लागि प्रहरी र पत्रकारबीचको सहकार्य, समन्वय अपरिहार्य छ ।

प्रहरी उपरीक्षक रेग्मी झापा आउनुभन्दा अघि जिल्लाको नेतृत्व विश्वमणि पोखरेलले गरेर विदा भएका छन् । उनले आफ्नो कार्यकाललाई खासै प्रभावकारी बनाउन सकेनन् । सर्वप्रथम एसपी पोखरेलले जिल्लामा सामाजिक समन्वय गर्न नै सकेनन् । जसका कारण जिल्लाबाट सुटुक्क विदा भए । नत्र, यसअघिका एसपीहरु एक हप्ता जिल्लाभर आयोजना हुने विदाई कार्यक्रमहरुमा सहभागी भएर जाने गर्थे । लामो समयदेखि विदाईको श्रृङखला चलिरहे पनि पोखरेल सुटुक्क लागे । किनभने, झापा बसाईमा खासै चर्चा योग्य काम पनि गर्न सकेनन् ।

नयाँ एसपी आएपछि झापाबासीले प्रहरीसँग सहकार्य गरेर सामाजिक काम गर्ने अपेक्षा पनि गरिहरेका हुन्छन् । झापामा लागुऔषधको डरलाग्दो व्यापार र प्रयोग छ । बेलामौका पक्राउ गर्ने बाहेक प्रहरीबाट खास काम भइरहेको छैन । लागुऔषध कारोबार र नियन्त्रणका लागि प्रभावकारी अभियानको खाँचो छ । राजश्व चुहावट उस्तै छ । जब सुरक्षा कमजोर हुन्छ, तब राजश्व समेत चुहावट हुन्छ । अर्को, आत्महत्याका घटना बढिरहेको छ । आत्महत्याका घटना न्यूनिकरणका लागि समुदायसँग प्रहरीको समन्वय जरुरी छ । यि र यस्ता काममा समुदाय र प्रहरीबीच प्रभावकारी समन्वयको खाँचो छ । पत्रकारसँग नयाँ एसपीले केहि महत्वपूर्ण विषयमा आफ्ना प्रतिवद्धता राखेका छन् । त्यो पुरा गर्न पनि समन्वय अनिवार्य भएकाले साझा मुद्धामा सहकार्यबाट अघि बढ्नुको विकल्प छैन ।

प्रकाशित मिति : पुष २०, २०७९ बुधबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]