जेष्ठ ६, २०८१ आईतबार

स्रोत मै फोहोर वर्गीकरण अनिवार्य

सम्पादकीय
बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरण बारे नागरिक तहमा सचेतनामुलक छलफल सञ्चालन गरिरहेको छ । धेरै वडामा यो छलफल सकिसकेको छ । स्रोतमै फोहोर छुट्टाउनुपर्ने भन्दै नगरपालिकाले अभियान सञ्चालन गरिरहेको छ । टोल विकास संस्थालाई विशेष प्राथमिकतमा राखेर सञ्चालन भइरहेको अभियानलाई सफल बनाउनु नगरबासीको दायित्व हो । किनभने, यो यसै नगरवासीको निमित्त हो । फोहारेमैलाको दीगो व्यवस्थापनका लागि बिर्तामोडले फागुन १ गतेबाट कनकाई विर्ता अर्जुन नविकरणीय उर्जामा फोहोर पठाउने तयारी थालेको छ । त्यसका लागि अनिवार्य रुपमा फोहोर वर्गीकरण गरेकै हुनुपर्छ ।

सबै गाउँ, शहरका लागि फोहोरमैला व्यवस्थापन चुनौतिपूर्ण छ । बिर्तामोड मात्र होइन, देशभरका पालिकाहरु अहिले फोहोरमैला व्यवस्थापनमा सफल हुन सकिरहेका छैनन् । त्यहि चुनौति बिर्तामोड नगरपालिकाले पनि वर्षौदेखि व्यहोर्दै आएको छ । अब, कनकाई उर्जा प्लान्ट तयार भएसँगै फोहोरमैला व्यवस्थापन हुने विश्वास गरिएको छ । त्यसका लागि स्रोतमै वर्गीकरण हुनुपर्ने प्राविधिकहरु बताइरहेका छन् । यदि, स्रोतमा फोहोरलाई छुट्टाउन सकिएन भने फेरि पनि व्यवस्थापनको मामिला सफल हुन सक्दैन । कुनै पनि हालतमा फोहोर छुट्टाउनैपर्छ ।

झापाको बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकासहित समुदायको ठुलो लगानीबाट निर्माण सम्पन्न भएको प्लान्ट सञ्चालनको अन्तिम तयारीमा छ । अब, फोहोर उपलब्ध गराउन मात्र बाँकी छ । स्रोतमै फोहोर छुट्टाउन सुरुआतमा समस्या हुन सक्छ । सजिलो विधि भनेको कुहिने, नकुहिने र धातुजन्य फोहोर अलग–अलग राख्नु नै हो । फोहोर संकलनका लागि आउने ट्रयाक्टरलाई त्यसै अनुसार फोहोर दिनुपर्छ । त्यसका लागि नगरपालिकाले फोहोर संकलन कै क्रममा हेरेर मात्र बुझिलिनुपर्छ । फोहोर मिसिएको हुनुहुदैन । मिसिएको फोहोर संकलनले लिन अस्वीकार गरे भने उत्पादकलाई नै समस्या आइपर्छ । यसैले वर्षौदेखि फोहोरको व्यवस्थान हरेक घरमा देखिएको छ । अहिले फोहोर लगेर पालिकाले आम्दानी गर्ने भयो भन्दै फोहोरको मुल्य मागिरहेको सुन्न पाइन्छ । यो अव्यवहारिक तर्क हुन् । नगरपालिकाले आम्दानी गरेको रकम यसै पालिकामा खर्च गर्ने हो । यस्ता कुतर्क गरेर फोहोरमैला व्यवस्थापनमा भाँझो हाल्ने काम बन्द गरौं ।

प्रकाशित मिति : पुष २५, २०७९ सोमबार  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]