बैशाख १२, २०८१ बुधबार

कृषकको जीवनस्तर उकास्न अर्जुनधाराले खोल्यो आफ्नै सहकारी

अर्जुनधारा । सहकारिताबाट कृषि क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले नगरस्तरीय सहकारी सञ्चालन गरेको छ । विसं २०७६ मा नगरपालिकाले आफ्नै सहकारी ऐन निर्माण गरेको र त्यसको एक वर्षपछि अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था गठन भएको प्रमुख प्रशासकीय अधिकृत गीता इङ्नामले बताउनुभयो ।

उहाँका अनुसार अर्जुनधारामा ८५ प्रतिशत बासिन्दा कृषिमा निर्भर छन् । परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिकरण गरी कृषिमा आश्रित जनताको जीवनस्तर उकास्न सघाउने लक्ष्यसाथ आफ्नै सहकारी स्थापनाको सोच ल्याइएको उहाँले बताउनुभयो । नगरपालिकाले सहकारी स्थापनाका लागि रु २४ लाख ९० हजार शेयरपुँजी लगानी गरेको छ । स्थापनाकालमै पाँच सय १५ कृषक सो सहकारीमा जोडिए । हाल सदस्य आठ सय ६२ पुगेको सहकारीका अध्यक्ष प्रत्युष आजाद रानाले जानकारी दिनुभयो ।

राज्यले तीन खम्बे आर्थिक नीतिलाई संविधानमै समावेश गरेपछि सहकारीको विकास र प्रवद्र्धनमा स्थानीय तह लागिपरेका छन् । स्थानीय तह आफैले सहकारी स्थापना गरेको प्रदेश नं १ मै यो पहिलो उदाहरण रहेको अध्यक्ष राना बताउनुहुन्छ । अर्जुनधारामा यसअघि ४६ सहकारी संस्था क्रियाशील थिए । नगरपालिकाले स्थापना गरेको नगर विकास सहकारीमा ती सबै सहकारीले शेयर लगानी गर्ने सहमति भएको छ । नगरपालिकाले सहकारी स्थापना गर्दा नगरभित्रका सबै सहकारीसँग बैठक गरेर सल्लाह लिएको थियो ।

नगरका ११ वटै वडामा वडा समिति गठन गरेको अर्जुनधारा सहकारीले पहिलो चरणमा नगरपालिकालाई बीउबिजनमा आत्मनिर्भर तुल्याउने अभियान चलाएको छ । “हरेक वर्ष हाम्रो नगरपालिकाबाट कृषि बालीको बीउबिजन खरिदमा रु १० करोड पँुजी बाहिर जाँदोरहेछ”, सहकारीका उपाध्यक्ष छत्र पौडेलले भन्नुभयो, ‘विसं २०८० सम्ममा नगरलाई बीउबिजनमा आत्मनिर्भर तुल्याउने लक्ष्यले अहिले बीजवृद्धिमा लागेका छौँ ।’

गत वर्ष धान बीउ खरिदमा रु दुई करोड खर्च भएको उहाँले जानकारी दिनुभयो । यसपालि सहकारीले सबै वडाका कृषकसँग सहकार्य गरेर धान, मकै, गहुँ, तोरी, जैघाँसलगायतका बीजवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उहाँले छ जातको ९० हजार केजी उन्नत धान, १० हजार केजी गहुँ, २७० केजी तोरी, ७०० केजी मकै र २०० केजी जैघाँसको बीउ किसानलाई उपलब्ध गराएर त्यसको उत्पादन खरिद गर्ने लक्ष्य लिइएको बताउनुभयो । बीजवृद्धि कार्यक्रममा सहभागी कृषकलाई सहकारीले बीउ, मल र प्राविधिक सहयोग उपलब्ध गराउँछ । कृषकले उत्पादन गरेको बाली आगामी वर्षको बीउबिजनलाई सहकारीले नै बजारभाउ भन्दा धेरै मूल्यमा खरिद गरिदिने उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

सहकारीले आगामी वर्ष कृषि क्षेत्रको विकास र प्रवद्र्धनमै संस्थाको योजना केन्द्रित गर्ने निर्णय गरेको छ । आगामी वर्ष पशुआहार, मह र बेसारको उत्पादन गरेर बजारिकरण गर्ने कार्यक्रम सहकारीले अघि सारेको छ ।

यो सहकारीमा ५१ प्रतिशत शेयर नगरपालिकाको कायम राखेर अरु शेयर स्थानीय सहकारी, वन उपभोक्ता समिति, सामुदायिक संघ संस्था र कृषकलाई नै वितरण गर्ने सोच बनाइएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत इङ्नामले बताउनुभयो । ‘नगरपालिकाले आफै सहकारी स्थापना गर्दा के होला कसो होला भन्ने सुरुमा सबैलाई लागेको थियो, तर अहिले प्रगति हेर्दा उत्साहवद्र्धक छ’, उहाँले भन्नुभयो, ‘युवाहरू विदेश पलायन भइरहेको, सहकारी बचत र ऋण कारोवारमा मात्र सीमित हुन थालेको र उर्वर जग्गा कि त घडेरीमा प्लटिङ कि त बाँझै हुन थालेको परिस्थितिमा हामीले यो सहकारी अरुभन्दा भिन्न र कृषि क्षेत्रको उत्थानमा वरदान सावित होस् भन्ने अपेक्षा राखेका छौँ ।’

हाल नौ सदस्यीय सञ्चालक समिति रहेकोमा स्थानीय सरकारको प्रतिनिधिको रुपमा नगरपालिकाले एक र सङ्घसंस्थाको तर्फबाट थप एक प्रतिनिधि सञ्चालक समितिमा रहने व्यवस्था छ । पदाधिकारी तथा अरु सदस्य समुदायबाटै चयन हुने व्यवस्था छ ।

हाल संस्थामा सात कर्मचारी र प्राविधिक कार्यरत छन् । नगरपालिकाको पशु विकास शाखाले आवश्यक प्राविधिक परिचालनमा मद्दत पु¥याउँदै आएको सहकारीका व्यवस्थापक लोचन राईले बताउनुभयो । कृषक सदस्यलाई आवश्यक पर्ने मल र बीउसमेत उपलब्ध गराइरहेको, बचत तथा कर्जा कारोबार दिनप्रतिदिन बढिरहेको र कृषकबाट उत्पादित बाली बीउबिजनका लागि भण्डारण गर्नुपर्ने खाँचो भएकाले एउटा कोल्डस्टोरको तत्काल आवश्यकता भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : पुष ३०, २०७९ शनिबार  ११ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]