सी आज दिउँसो १ बजे स्वदेश फर्कने योजना
काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आइतबार पनि निरन्तरता दिनुहुने छ ।

शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार नेकपा नेताहरूसँग भलाकुसारी गर्ने योजना छ ।
नेकपाका एक नेताका अनुसार, नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने तय भएको छ । प्रचण्ड नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको छ ।
नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ ।
नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ ।
द्विपक्षीय वार्तापछि सी दिउँसो १ बजे विमानस्थलबाट स्वदेश फर्कने योजना रहेको छ ।