बैशाख १३, २०८१ बिहीबार

बाहुण्डाँगीमा तरुल उत्सव गर्दै मनाइयो जैविक विविधता दिवस

झापा । मेचीनगर नगरपालिका –४ बाहुण्डाँगीमा प्रदेशकै पहिलो तरुल मेला आयोजना गरिएको छ । देशैभर माघे÷मकर संक्रान्ति मनाई रहेको बेला बाहुण्डाँगीले भने राष्ट्रिय जैविक विविधता दिवस तथा तरुल उत्सव मनाएको हो ।

पूर्णरुपले जैविक भएको यो उत्सवमा जङ् फुट प्रतिबन्ध सरह थियो । तरुल, सेलरोटी, तिलको लड्डु, स्थानीय क्षेत्रमै उत्पादित ढाकाको तान, स्थानीय क्षेत्रमा बनेको लोकल रक्सी लगायतका थुप्रै स्थानीय र जैविक वस्तुहरुको स्टल राखिएको थियो ।

नवपुस्ताहरुको जैविक आहारमा आकर्षण कम भएको देखेर उनीहरुलाई जैविक खानाको महत्व बुझाउन र त्यसप्रति आकर्षण गर्न यस उत्सवको आयोजना गरिएको मेचीनगर– ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए । उनी भन्छन् ‘आजको पुस्तालाई प्याकेटमा पाउने चाउचाउ लगायतका कुराहरु खुब मन पर्छ । तर घरमै उत्पादित खानाहरु उनीहरुलाई मन पर्दैन । जसको कारण उनीहरुले अस्वस्थ्य खानेकुरा खाइरहेको हुन्छन् । ति अस्वस्थ्य खाने कुरालाई यस्ता जैविक आहारको महत्व बुझाउन यस उत्सवको आयोजना गरिएको हो ।’, उनले थपे ‘तरुल उत्सव केवल नाम मात्र हो, यसको नाक, कान, आँखा, मुख र खुट्टाहरु भनेको जैविक विविधता संरक्षण गर्नु हो ।’ तरुल हात्तीले नखाने बाली भएको, बाहुण्डाँगी क्षेत्र हात्ती प्रभावित क्षेत्र रहेकाले पनि तरुलको व्यवसायिक खेतीको सम्भावना बलियो बनाउनसमेत उत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त उत्सव मेचीनगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, महेन्द्रद्वार सहकारी संस्था काँकरभिट्टा र कृषी ज्ञान केन्द्र भद्रपुरलागायका संस्थाहरुको सहकार्यका आयोजना भएको हो । उत्सवमा गत दशैं तिहारमा वडा नं ४ का टोलहरुमा लिङ्गे पिङ लगाउन सञ्चालन गरिएको प्रतियोगिताका उत्कृष्ट टोलहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पनि प्रदान गरिएको थियो । साथै विभिन्न विद्यालयहरु बीच नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

साविक बाहुण्डाँगी अर्थात हालको मेचीनगर १,२,३ र ४ लामो समयदेखि हात्ती समस्याबाट गुज्रिरहेको ठाउँ हो । यहाँका किसानहरुले धान, मकै जस्ता बालीहरु लगाएर उठाउँनु नपाएको वर्षौ भइसकेको छ । बाली लगाएर खेती उठाउन नपाएका बाहुण्डाँगी बासीले बाली फेर्न थालीसकेका छन् । केही वर्ष यता उनीहरु सुपारी खेती, चिया खेती जस्ता नगदे बालीको खेती गर्न थालेको देखिन्छ । हालको तरुल उत्सव यसै बाली फेर्ने कुरालाई निरन्तरता दिन र यस क्षेत्रलाई जैविक क्षेत्रको रुपमा परिचित बनाउन आयोजना भएको उत्सब हो ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]