चैत्र १६, २०८० शुक्रबार

माइमेलाको चाम र दाम दुवै घट्यो

बिर्तामोड । कनकाई माई मेलामा यो वर्ष विगतमा जस्तो भीडभाड हुन सकेन । मेलामा व्यापारका लागि आएका अधिकांश व्यापारीले मेला हेर्न आउनेहरुको संख्या न्यून भएकाले बताए । मेला भर्न आउनेहरुको संख्या घट्दा व्यापार सोचेजस्तो नभएको उनीहरुको प्रतिक्रिया छ । भीडभाड कम भएकाले सोचेजस्तो व्यापार हुन नसकेको व्यापारीहरुको भनाई छ ।

कोभिडले दुई वर्ष रोकिएको माई मेलामा यो वर्ष राम्रै व्यापार हुने आशा थियो । सुनसरीस्थित झुम्कादेखि मिठाई व्यापारका लागि आएका भवनलाल शाह भन्छन्, जे सोचेर आएको त्यो पुरा भएन । उनले यसअघिका मेलाको तुलनामा व्यापार गर्न नसकेको बताए । झुम्कादेखि सामान लिएर आएको भाडा, मेला आयोजकलाई तिरेको भाडा पनि उठेन – शाहले भने, १६ हजार भाडा मात्रै तिरे । स्टाफ खर्चको कुरै नगरौं । पहिले–पहिलेको मेलामा बनाएको सबै सामान बेचिन्थ्यो, यो वर्ष आधा पनि बेचेको छैन ।

यसअघिका मेलामा मेला भर्न आउनेहरु विहानै देखि आउँथे । यो वर्ष १२ बजेबाट मात्रै मेला भर्नेहरु आएको व्यापारीहरु बताउँछन् । १ गते मुख्य दिन हो, त्यै दिन २-३ घण्टा राम्रो व्यापार भयो, शाहकी बुहारी पिंकी भन्छिन् ।
यस्तै, गिलास लढाउने खेलको स्टल राखेका बुद्धिलाल टुडुले खाईखर्च मात्रै उठेको बताए । स्टलको ५ हजार भाडा बुझाएका उनले मेला भर्न आउनेहरुको संख्या घटेको बताएका छन् । उनी भन्छन्, अहिले जताततै पार्क छ, घुमफिर गर्ने ठाउँ भएर पनि मान्छेहरु नआएको होला ।

विहारबाट टाटु व्यापार गर्न आएका राजेन्द्र मण्डलले पनि मेलाको दुख सुनाए । उनी दैनिक २ सय भाडा बुझाएर मेलामा बसेका हुन् । दैनिक २ हजारको व्यापार भए मात्रै पोसाउने उनको भनाई छ । ५ सय देखि ७ सयको व्यापार हुँदा खानपिन, बसाई र भाडा मात्रै भयो, उनले थपे । मान्छे नै छैनन्, कसरी व्यापार हुन्छ भन्दै उनले विना फाइदा घर फर्किन लागेको सुनाए ।

दमकका डम्बर तामाङले मेला आयोजकलाई ८ हजार भाडा तिरेर मेलामा गुडियाको स्टल राखे । ३० गते बेलुका मेला आएका उनले यो वर्षको व्यापार सन्तोषजनक पनि नभएको प्रतिक्रिया दिए । उनले पहिले जस्तो व्यापार नभएको बताए । तामाङले भने, यो वर्षको मेलामा ४० प्रतिशत भीड कम भयो । मान्छे नै नआएपछि व्यापार नहुनु स्वभाविक भएको उनको भनाई छ । मेलामा सोचे जस्तो लक्ष्य पुरा भएन । उनले दैनिक १० हजार फाइदा हुने अनुमान गरेका थिए ।

मनोरन्जनात्मक खेल सामग्री राख्ने गणेश राउतले अहिलेसम्मकै खराव व्यापार भएको बताएका छन् । मेलाको मुख्य आकर्षण मनोरञ्जन भएपनि व्यापार राम्रो भएन, राउतले भने – ‘मैले २२ वर्षदेखि मेलामा मनोरञ्जनात्मक खेलका सरसामान ल्याउने गरेको छु । यो वर्ष अहिलेसम्मकै खराव भयो ।’ उनले साढे ८ लाखमा खेल सामग्री राख्न पाएका थिए । १ गते २-३ घण्टा मेला राम्रोसँग चलेको थियो । मुख्य दिननै व्यापार नभएपछि के गर्नु ?, फेरि थपे । आर्थिक मन्दीको प्रभावले सोचेजस्तो व्यापार गर्न नसकेको उनको भनाई छ । पहिले पुलमा हिड्न सकिदैन थियो, यो वर्ष खुल्ला थियो । सोचेभन्दा ७५ प्रतिशत व्यापार कम भएको राउत बताउँछन् । राउतले रोटेपिङ, मिकि हाउस, ड्राइगन, बलमवस, मतका कुवा, बुगिबुगीलगायत बालबच्चा खेल्ने सामान मेलामा राखेका थिए ।

यता, कनकाई माई मेलाका मुख्य ठेकेदार श्याम कुमार लिम्बूले विगतमाभन्दा उपस्थिति राम्रो भएको दावी गरेका छन् । उनले दुई वर्ष रोकिएको माइमेलामा सोचेभन्दा राम्रो भीडभाड भएको बताए । व्यापारीहरुले राम्रो व्यापार भएन भन्ने जिज्ञासा जवाफ दिदैं भने, व्यापार सोचे जस्तो नहुन सक्छ । सबै मेला भर्न आउनेहरुले सबैसँग किनमेल नगर्न सक्छन् । व्यापार नहुँदा भीडभाड नै भएन भन्न नमिल्ने उनको तर्क छ ।

कनकाई नगरपालिकासँग ५ लाख १ हजारमा ठेक्का पाएका लिम्बूले भीडभाड धेरै भएपनि मेलामा आर्थिक मन्दीको प्रभाव परेको बताए । मेलामा आउनेहरुले खर्च गर्न नसकेको हुन सक्छ, सबैलाई आर्थिक मन्दीको प्रभाव छ, उनले भने – मेलामा आर्थिक मन्दीको प्रभाव नपर्ने भन्ने हुदैन । मेला सुरक्षित र भयरहित ढंगबाट सम्पन्न भएको उनको भनाई छ ।

प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]