माघ २३, २०७९ सोमबार

स्वास्थ्य चौकीमै छैन सिटामोल

जाजरकोट । जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन ।

एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो।

बीस लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ पाँच महिनादेखि औषधि अभाव भएको छ ।

दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताउनुभयो । ‘औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाडौँबाट आएपछि बाँड्ने योजना छ,’ उहाँले भन्नुभयो ।

बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोललगायत अन्य औषधिहरूसमेत निजी मेडिकलबाट किनेर खानोस् भनेर पठाउने गरेको स्थानीय बताउँछन् । जुनीचाँदे–११ का कैलो नेपाली, दमले सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि विना नै फर्किनुपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘स्वास्थ्य संस्थाका नानीहरूले मेडिकलबाट औषधि किनेर लिनु भनेका थिए, पैसा नभएपछि खाली हात घर फर्किएँ ।’

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भेटिएका जुनिचाँदे–४ का सकरे खड्काले स्वास्थ्य केन्द्रले सिटामोलसमेत नदिएको गुनासो गर्नुहुन्छ । केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित बन्नुभएका खड्काले भन्नुभयो, ‘उपचार गर्न आएको थिएँ, डाक्टरले सिटामोलसमेत दिएनन् ।‘ चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बन्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन् ।

प्रकाशित मिति : माघ ९, २०७९ सोमबार  ३ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास