कृषिथोकको वेथिती सुधारौं
सम्पादकीय
झापाको ठुलो कृषि बजार हो , बिर्तामोडको कृषिथोक । पूर्वी पहाडी देखि भारतदेखिका उत्पादन बिर्तामोडको कृषिबजारमा उपलब्ध हुन्छ । पहाडका ताजा र अर्गानिक कृषि वस्तु पाइने कृषिथोकमा भारतीय उत्पादनको राम्रै विगविगी छ । यहाँको उत्पादनले धान्न नसक्नु र व्यापारीको फाइदाका लागि भारतीय उत्पादनलाई विशेष जोड दिनुपर्ने कृषिबजारको बाध्यता पनि हो । चरम वेथितीबाट गुज्रिएको कृषिथोक बजार वास्तवमा कृषकको पकडमा छैन । व्यापारीहरुको पकडमा रहेको कृषिबजारमा केहि सुधारका प्रयास भइरहेका छन् । यसले सफलता पाउने नपाउने भन्ने बारे थाहा पाउन अझै पर्खनै पर्छ ।
कृषिथोक बजारमा व्यापारीको सिण्डिकेट डरलाग्दो छ , जहाँ किसान विहान उज्यालो नभई आफ्नो उत्पादन व्यापारीलाई बुझाएर विदा हुनुपर्छ । अर्थात, किसानले दिउँसो व्यापार गर्न पाउदैनन् । बजारका दिन ससाना ढाकीमा व्यापार गर्न मात्रै छुट दिइएको छ । कृषक चौतारीका नाममा निर्माण गरिएको संरचना पूर्ण रुपमा उपयोग हुन सकेको छैन । व्यवस्थापन समितिले भर्खरैबाट निर्देशिका बमोजिम व्यवस्थापनको तयारी गरेको छ । समितिसँग सम्झौता गरेकोभन्दा विपरित व्यापार गर्न नदिने अभियान सञ्चालन भइरहेको छ । यो सकारात्मक छ ।
कतिपय व्यापारीको सम्झौता पत्रमा आफै थप गरेर पनि व्यापार सञ्चालन गरिरहेको पाइएको छ । सम्झौतामा उल्लेख भएको व्यापार गर्नेहरुलाई छोडिएको छ । त्यसको उल्लंघन गर्नेहरुको सटरमा ताला लगाइएको छ । जो सर्तमा व्यापार गर्न मञ्जुर छन्, उनीहरुको पसल खोल्न दिने सहमति पनि भइसकेको छ । यो अभियान समितिको सुधारको अभियान हो । कृषिबजारमा पसल किनबेच देखि आफुखुशी संरचना बनाउनेसम्मका काम भएका छन् । व्यवस्थापन समितिकै सदस्यहरुबाट पनि सम्झौता उल्लंघन भएको पाइएको छ । यसैले तमाम्, वेथिती सुधारको जरुरी छ । किसान, उपभोक्ता र व्यापारीको साझा बजारलाई राम्रो बनाउन आवश्यक छ । त्यसका लागि सबैको सकारात्मक भूमिकाको जरुरी छ ।