बैशाख ७, २०८१ शुक्रबार

संकटमा पोल्ट्री व्यवसाय : झापाका किसानले छोडेपछि उधोगी पाल्न थाले कुखुरा

बिर्तामोड । आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले झापाका किसान धमाधम पलायन हुन थालेका छन् । भारतबाट सस्तो मुल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय नै संकटमा परेको छ ।

कोरोना महामारी र आर्थिकमन्दीपछि ५० प्रतिशत कुखुरा पालक किसान पलायन भएको जिल्ला कुखरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले जानकारी दिए । उनका अनुसार यस्तै अवस्था रहिरहने हो भने किसानले कुखरा पालना पूर्ण रुपमा छोड्ने अवस्था छ ।

कुखुरा पालनमा देखिएको संकटबारे १ नं. प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई व्यवसायीहरुले जानकारी गराएका छन् । शुक्रवार व्यवसायीहरुले गौरादहस्थित निवासमा कुखुरा पालक किसानको समस्या अवगत गराउदै प्रदेश सरकारबाट आवश्यक सहयोगका लागि आग्रह गरेका छन् ।

भारतबाट अण्डा, कुखुरा र मासुको आयातले यहाँका किसान धेरै मार्कामा परेको अध्यक्ष निरौलाको भनाई छ । भारतमा कम लगानीबाट उत्पादन भएको कुखुरा अवैध रुपमा नेपाल भित्राइने गरिएको छ । जसका कारण झापाका किसान मारमा परेका छन् ।यहाँका किसानले भारतको मुल्यमा कुखुरा दिन सक्दैनन्, निरौला भन्छन्, – यहाँ प्रति केजी कुखुरा उत्पादनमा २३० रुपैयाँ लगानी हुन्छ भने भारतमा ८० रुपैयाँमा कुखुरा उत्पादन भइरहेको छ । जिल्लाका किसानले अवैध रुपमा भित्रिने कुखुराको मासुका कारण ठुलो क्षति व्यहोर्दै आएका छन् ।

कुखुरा पालक किसानले दाना विक्रेताको भरमा व्यवसाय गरिरहेका थिए । किसानले उधारोमा डिलरबाट दाना लगेर कुखुरा पाल्ने र डिलरलाई कुखुरा दिने गरेका थिए । अहिले आर्थिक मन्त्रीका कारण उधोगले डिलरलाई बाँकी नदिएपछि त्यसको प्रत्यक्ष असर किसानसम्म परेको छ । डिलरले पनि बाँकी सामान नदिएपछि किसानले जोखिम मोल्न चाहेको देखिदैन । त्यसका कारण ५० प्रतिशत किसान यो व्यवसायबाट पलायन भएको अध्यक्ष निरौलाको भनाई छ ।

किसानले कुखुरा पाल्न छोडेपछि चल्ला तथा दाना उत्पादकले आफै कुखुरा पाल्न थालेका छन् । उधोग बचाउनका लागि उधोगीहरु आफै कुखुरा पाल्न थालेको भनाई छ । अध्यक्ष निरौलाले सञ्चालन गरिरहेको भ्याली एग्रोले अहिले ७० हजारभन्दा धेरै कुखुरा पालिरहेको छ । उनले भने, किसानले कुखुरा पाल्न छोडेपछि उधोग बचाउन आफै कुखुरा पाल्न थालियो ।

सीमामा प्रहरी प्रशासनको कमजोरीले भारतबाट अवैध रुपमा आयात हुने कुखुराका कारण देशमै केहि गरौं भन्ने युवाहरु वैदेशिक रोजगारीमा पलायन हुन थालेका छन् । उनीहरुका अनुसार आन्तरिक स्रोतबाट कृषिमा आत्मनिर्भर हुन सकिने क्षेत्र पोल्ट्री मात्रै हो । अवैध आयात रोक्दै आर्थिक क्षेत्रको सुधार भएमा पोल्ट्री व्यवसायमा सुधार आउने व्यवसायीको विश्वास छ । निरौलेले भने, ‘मुख्यमन्त्रीसँग यसै विषयमा कुरा राखेका छौं । उहाँले कृषिमन्त्री समेत राखेर किसानको समस्या हल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’ आफुहरुले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्ने भाका असार पुराउनुपर्ने माग राखेको बताएका छन् ।

झापामा दैनिक ४० हजार केजी कुखुराको खपत हुने गरेको व्यवसायी संघको तथ्याङक छ । आर्थिक मन्दीले निर्माण क्षेत्र प्रभावित हुँदा मासुको खपत पनि ४० प्रतिशत घटेको व्यवसायीको भनाई छ । कोरोनाअघि जिल्लामा ८ हजार किसानले कुखुरा पालन गर्दै आएकोमा अहिले ५ हजार किसानले पनि कुखुरा पालन नगरेको अध्यक्ष निरौलाले जानकारी दिए ।

अवैध आयातमा संलग्नलाई प्रहरीले पक्राउ गरि कारबाही गर्दै आएको छ भने २ थान ट्याम्पु, १ थान पिकअप, ४ थान मोटरसाइकल र १२ थन साइलक नियन्त्रणमा लिई भन्सारलाई बुझाइएको छ ।

प्रकाशित मिति : माघ १५, २०७९ आईतबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]