बैशाख ६, २०८१ बिहीबार

भारतीय गोलभेँडा भित्रिँदा किसान मारमा

सर्लाही । गोलभेँडाको भाउ निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेँडा ओइरिएपछि यहाँका स्थानीय किसानले फलाएको गोलभेँडाले बजार र उचित मूल्य पाउन छाडेको छ । किसानले गोलभेँडा प्रतिक्रेट १५० देखि दुई सय रुपियाँमा बिक्री गरिरहेका छन् ।

एक क्रेटमा २५ केजी गोलभेँडा हुन्छ । यसरी गोलभेँडा प्रतिकेजी छदेखि आठ रुपियाँमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल रहेको हरिवन नगरपालिका–२, सिकारी टोलका किसान वसन्तकुमार डुमजनले गुनासो गर्नुभयो । ‘सुरुमा एक क्रेट गोलभेँडा एक हजार दुई सय रुपियाँसम्ममा पनि बेच्यौँ तर अहिले आएर १५० रुपियाँमा बेच्नु परेको छ,’ डुमजनले भन्नुभयो ।

लालबन्दी बजारबाट तरकारी जाने मुख्य बजारमा भारतीय गोलभेँडा बिनारोकटोक भित्रिँदा यहाँका किसानलाई गोलभेँडा बेच्नै समस्या हुन थालेको हो । लालबन्दी नगरपालिका–१०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले भन्नुभयो, ‘क्रेटको डेढ सयले गोलभेँडा बेच्दा हाम्रो लागत र हैरानी उठ्दैन ।’ काठमाडौँमा नै गोलभेँडाको भाउ नरहेको भन्दै व्यापारीले गोलभेँडामा भाउ नै नलगाउने गरेका श्रेष्ठले गुनासो गर्नुभयो ।

लालबन्दी नगरपालिका–१, नवलपुरका किसान चरित्र कुशवाहाले १० कट्ठामा लगाएको गोलभेँडा टिपेर बेच्ने बेला भए पनि व्यापारीले खरिद गर्न नमानेको बताउनुभयो । ‘भारतीय गोलभेँडा आइरहेको छ भन्दै व्यापारीले हाम्रो गोलभेँडा लिन मानिरहेका छैनन्,’ कुशवाहाले भन्नुभयो ।

बारीभरि पाकेर राताम्मे भएको गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्ने बाध्यतामा छन् । पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान थप मारमा परेका छन् । लालबन्दी कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका व्यापारी तोरनबहादुर मगरले भारतीय गोलभेँडा भित्रिरहेको र गोलभेँडा उत्पादन हुने मध्य सिजन भएकाले यहाँ फलेको गोलभेँडाले भाउ पाउन नसकेको बताउनुभयो ।

सर्लाहीमा उत्तरी भेगको लालबन्दी, रानीगञ्ज, पत्थरकोट, चन्द्रपुर, हीरापुर, नवलपुर, अत्रौली, सासापुरलगायत क्षेत्रमा गोलभेँडाको व्यावसायिक खेती हुने गरेको छ । लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेँडा कालिमाटीलगायत देशका प्रमुख बजारमा जाने गरेको छ । लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले गोलभेँडा किसान वास्तवमै मारमा परेका बताउनुभयो । पौडेलले भन्नुभयो, ‘कृषि बजार निर्देशनालय, नगरपालिका, व्यापारी र किसान बसेर भाउ तय गर्ने हो भने किसानलाई राहत मिल्न सक्छ ।’

किसानले यति सस्तो मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्दा स्थानीय सरकारका रूपमा रहेको नगरपालिकाले कुनै चासो नदिएको गुनासो गरेका छन् । -गोरखापत्र

प्रकाशित मिति : माघ १६, २०७९ सोमबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]