चैत्र १६, २०८० शुक्रबार

मागुरमाडी खानेपानीको स्वामित्व धुलाबारी खानेपानीलाई

धुलाबारी । मेचीनगर–९ मा सञ्चालित माथिल्लो मागुरमाडी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र धुलाबारी खानेपानी उपभोक्ता समितिबीच एकीकरण भएको छ ।

२०७२ सालमा स्थापना भई २७६ जना उपभोक्तालाई खानेपानीको सेवा दिँदै आएको माथिल्लो मागुरमाडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आफ्नो सम्पूर्ण स्वामित्व धुलाबारी खानेपानी समितिलाई हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच माथिल्लो मागुरमाडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी भट्टराईले धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरेलाई संस्थाको सम्पूर्ण चलअचल सम्पत्तिसहितको कागजात हस्तान्तरण गरेका थिए ।

पाँच कठ्ठा क्षेत्रफलमा रहेको सो खानेपानी कार्यालयमा एक लाख लिटर क्षमताको ओभरहेड टेंकी, ४ कोठे भवन, एक सय केभीको एक थान ट्रान्सफार्मर, संस्थामा मौजात रहेको छ । उक्त समितिले १२ लाख बराबरको पाइनलाइन विस्तार गरेको छ । करिब ८ लाख ५० हजारको पाइप मौज्जातमा रहेको छ ।

मागुरमाडी खानेपानी उपभोक्ता समिति स्थापना गर्न स्थानीय विष्णुकुमार राई, केदारनाथ भट्टराईले १÷१ एक कठ्ठा जमिन निःशुल्क प्रदान गरेका थिए भने मागुरमाडी सामुदायिक वन उपभोक्ता समिति बिट नं २ ले ३ कठ्ठा जमिन उपलब्ध गराएको थियो । सामुदायिक वनले ४ लाख आर्थिक सहयोग गरेपछि सो रकमबाट खानेपानी समितिले ३ कठ्ठा जमिन खरिद गरेको थियो ।

माथिल्लो मागुरमाडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी भट्टराईको सभापतित्वमा तथा जिल्ला डिभिजन खानेपानी कार्यालय चन्द्रगढीका प्रमुख विकास काफ्लेको प्रमुख आतिथ्यमा स्वामित्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि काफ्ले, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष घिमिरे, पूर्व अध्यक्ष मणिकुमार उप्रेती, नेपाली कांग्रेस महाधिवेशन समिति सदस्य प्रेम सम्बाहाम्फे, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य प्रकाश भण्डारी, इन्दिरा कार्की, धुलाबारी खानेपानी उपभोक्ता समितिका सचिव तथा मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङ, माथिल्लो मागुरमाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख तामाङ, पूर्व अध्यक्षहरु कमलप्रसाद गौतम, ठाकुरप्रसाद अधिकारी, जगत तामाङ लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन माथिल्लो मागुरमाडी खानेपानी उपभोक्ता समितिका सचिव टंकबहादुर श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा धुलाबारी खानेपानी उपभोक्ता समितिका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, उपाध्यक्ष चेतराज विष्ट, सचिव कञ्चन तामाङ लगायत सदस्यहरु तथा माथिल्लो मागुरमाडी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष हेमकुमार खड्का, कोषाध्यक्ष देवीका सुर्जे मगर, सहसचिव सीता अधिकारी लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : माघ १८, २०७९ बुधबार  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]