जेष्ठ २, २०८१ बुधबार

रास्वपा खारेजीको मागसहित उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगका अनुसार बुधबार उक्त पार्टीविरुद्ध उजुरी दर्ता भएको हो । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित युवराज पौडेल (सफल)ले निर्वाचन आयोगमा उजुरी दिनुभएको हो । एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता भङ्ग भएको र उक्त गतिविधि राष्ट्रिय हितविपरीत भएको तर्क गर्दै पौडेलले दलको दर्ता खारेजी गर्न माग गर्नुभएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलले राष्ट्रिय गोपनीयता भङ्ग गर्ने, नेपालको सुरक्षामा आँच पु–याउने गरी कुनै विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्नेलगायतको कार्य गर्न बन्देज लगाएको छ। सोही ऐनको दफा १२ ले राष्ट्रिय गोपनीयता भङ्ग गर्ने, सुरक्षामा आँच पुर्याउने विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्नेलगायतका कार्य गरेमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल खारेजको माग उठेपछि त्यस सम्बन्धमा आयोगले आवश्यक छलफल गर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवारी दिँदा पेस गर्नुभएको नागरिकता कानुनतः अवैधानिक रहेको उजुरीमा उल्लेख गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ १३ गते लामिछानेले नागरिकता पुनःप्राप्तिको प्रक्रिया नथालेको भन्दै पुरानो नागरिकतालाई अवैध ठहर गरेको थियो ।

प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]