जेष्ठ ५, २०८१ शनिबार

६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउँदै

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तगर्त सरकारले आज शनिबार र भोलि आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ ।नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाउँछन् । शनिबार खान छुटेकाहरुलाई आइतबार खुवाइने छ ।

कार्यक्रम अन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ ।


बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन भएका छन् ।


मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । ती कार्यक्रमका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ ।


दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक ४०० रुपैयाँ भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित छन् ।

सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरुवात भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।’


बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताउनुभयो ।
यसैगरी बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइने छ । जुकाका कारण रक्त अल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ ।

प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]