बैशाख १३, २०८१ बिहीबार

हिउँदे अधिवेशन डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरुसँग संसदका गतिविधिहरुलाई चलायमान बनाउने कुरामा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कतिवटा विधेयकहरु संसदबाट पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरुबाट सुझाव लिनुभएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदको बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरु लैजाने भन्नेबारेमा छलफल भएको बताउनुभयो ।

सांसद यादवले संसद प्रभावकारी नबनेको भन्दै संसद, रमिता देखाउने कुरामै सिमित रहेको बताउनुभयो । उहाँले आफूले नागरिकता ऐन, सङ्घीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसदको बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको जानकारी दिनुभयो । हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिव २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाउनुभएको सांसद यादवको भनाइ छ ।

‘‘बिजनेस आएको छ की छैन, कसरी लैजाने ? के लैजाने ? यो सत्रमा कति वटा विधेयक लैजाने ? त्यो विषयमा प्रधानमन्त्रीले छलफल गर्नुभएको हो । हामीले वास्तवमा संसदलाई बिजनेस आएको छैन, संसद अहिले प्रभावकारी बनेको पनि छैन, रमिता मात्रै भएको छ, भाषण मात्रै भएको छ ।’’ सांसद यादवले भन्नुभयो, ‘‘बिजनेस संसदले पाएको छैन, त्यसैले सदनलाई बिजनेस दिनुपर्छ भन्ने हाम्रो माग थियो । नागरिकता ऐन, संघीय कर्मचारी ऐन, जस्ता विधेयक ल्याउनुपर्छ । त्यो पास गनुपर्छ भनेका छौँ । प्रधानमन्त्री गम्भीर बन्नुभएको छ । करिव डेढ महिना यो सत्र चल्छ, यसमा करिव १५ देखि २० वटा विधेयक पास गर्ने प्रतिबद्धता जनाउनुभयो ।’’

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आजको प्रमुख सचेतकहरुसँगको बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरुलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यक्तासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने ? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्नुभएको बताउनुभयो ।

प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘बैठकमा सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरुलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यक्तासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने ? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्नुभएको छ ।’’

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु भए पनि संसदले गर्ने कार्य सुखद् नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाउनुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरुले संसदलाई कसरी सुचारु गर्ने भन्ने बारेमा छलफल गरेको जानकारी दिनुभयो ।

परियारले संसद सुचारु भए पनि संसदका प्राविधिक कुराहरुमा नै अहिलेसम्म अड्किएकाले अबका दिनमा संसदलाई कस्तो बिजनेस दिने भन्नेबारेमा छलफल भएको बताउनुभयो । बैठकमा समितिहरु बन्न नसक्दा संसदलाई कार्य, व्यवसाय दिने कुरामा अलमल परेकाले कसरी अघि बढ्दा उचित हुन्छ भन्ने कुरामा छलफल भएको उहाँले बताउनुभयो । प्रमुख सचेतक परियारले आगामी संसदका बैठकमा राज्य सञ्चालनलाई आवश्यक राष्ट्रिय महत्त्वका विधेयकहरु सरकारले संसदमा प्रस्तुत गर्ने विषयमा छलफल भएको पनि जानकारी दिनुभयो ।

‘‘संसद चले पनि संसदले गर्ने कार्य खासै नभएको जस्तो देखिएकाले बैठक बोलाउनुभएको थियो । सभामुख, उपसभामुखको निर्वाचनलगायत हामी प्राविधिक काममा अल्मलिएका थियौँ । संसदले निरन्तर गर्नुपर्ने ऐन, कानून, विधेयकका बारेमा प्रमुख सचेतकहरुसँग छलफल भएको छ । संसदलाई कसरी सुचारु गर्ने भन्ने बारेमा छलफल भयो । हामीसँग प्रतिनिधिसभा नियमावली समिति बनिसकेको छैन, जसकारण संसदका समितिहरु नबन्ने भए ।,’’ प्रमुख सचेतक परियारले भन्नुभयो, ‘‘समिति नबन्दा विधेयकहरु आउँदा अल्मलिने भयो भन्ने कुरा भयो । हामीले मस्यौदा समितिले पनि १५ दिन भित्र काम गरिसक्ने र संसदमा प्रक्रिया गर्दागर्दै केही प्रक्रिया लाग्ने भएकाले समिति नबन्दै संसदलाई कार्य, व्यवसाय दिन सकिने भन्ने कुरा भएको छ । राज्य सञ्चालनलाई आवश्यक राष्ट्रिय महत्त्वका विधेयकहरु सरकारले संसदमा प्रस्तुत गर्ने कुरा भएको छ ।’’

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसदले बिजनेस नपाएको र संसदमा विधेयकहरु अघि नबढीरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग सुझाव लिनुभएको बताउनुभयो । उहाँले सहज रुपमा सरकारले संसदमा विधेयकहरु पेस गर्नका लागि के कस्ता अप्ठ्याराहरु छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको बताउनुभयो ।

‘‘संसदमा पेस गर्नुपर्ने विधेयकहरुका सन्दर्भमा प्रधानमन्त्रीजीले संसदमा रहेका दलका प्रमुख सचेतकहरुसँग कुरा गर्नुभएको हो । संसदले बिजनेस पाइरहेको छैन, विधेयकहरु संसदमा विधेयकहरु अघि बढिरहेको छैन । सहज रुपमा सरकारले संसदमा विधेयकहरु पेस गर्नका लागि के कस्ता अफ्ठ्याराहरु छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘छलफलपछि कतिपय कन्फ्युजनहरु मेटिए । यतिबेला प्रतिनिधि सभा नियमावली मस्यौदा भइरहेको छ । मस्यौदा समितिले काम गरिरहेको छ ।’’

प्रमुख सचेतक ज्वालाले अहिले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको र संसदीय समितिहरु नबन्दा सरकारले संसदमा विधेयकहरु पेस गर्दा अप्ठ्यारो हुने कुराको बारेमा पनि छलफल भएको बताउनुभयो । -गोरखापत्र

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  २ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]