बैशाख १३, २०८१ बिहीबार

झापाका दुई वडाध्यक्ष तिन महिनादेखि फरार

बिर्तामोड — वडाध्यक्षहरु बिर्तामोड नगरपालिका ८ का अजय कार्की र भद्रपुर नगरपालिका ९ का शनिलाल राजवंशी तीन महिनादेखि ‘फरार’ छन् । आफ्नो गाउँको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने आशामा जिताइएका जनप्रतिनिधि नहुँदा जनता निराश बनेका छन् ।

गैरनेपालीलाई नागरिकता बनाइदिएको आरोप दुवै वडाध्यक्षहरुमाथि छ । उनीहरूलाई प्रहरीले खोजी गरिरहेको छ । वडा कार्यालय कार्यबाहकको भरमा चलिरहेको छ । वडामा रचनात्मक काम हुन सकेको छैन । १६ जना गैरनेपालीलाई नागरिकता बनाईदिएको आरोपमा २ जना वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालयका अधिकृतसहित ६ जना कर्मचारी, २ जना वडा सचिवसहित ४८ जनाका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीमध्ये बिर्तामोड ८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालयका खरिदार तेजेन्द्र न्यौपाने, नागरिकतामा सनाखत गर्ने बिर्तामोड ७ का मुस्तफा आलम, बुबा बनेर नागरिकता बनाइदिने ताप्लेजुङका टेकबहादुर गुरुङ तथा बिचौलियाहरु भद्रपुरका प्रेमराज तिम्सिना र बिर्तामोडका भीमबहादुर लिम्बू पक्राउ परेको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अन्य ४२ जना भने फरार रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी र वडाध्यक्षहरुको मिलेमतोमा ८ वटा नागरिकता दुरुपयोग गरी १६ जनालाई नेपाली नागरिकता बनाईदिएको डीएसपी श्रेष्ठले बताए । उनीहरुले ताप्लेजुङका टेकबहादुर गुरुङलाई बुबा बनाएर ८ जनालाई नक्कली नागरिकता बनाइदिएको श्रेष्ठको भनाइ छ ।
भद्रपुर ९ का नरबहादुर पाख्रिन बुबा बनेर दुई जनालाई, बिर्तामोड ८ का सुरेश अग्रवाल, त्यही वडाका सुशीलकुमार दास, नजिम मोद्दिन र निमा शेर्पा तथा भद्रपुर ९ का राम साह र नरबहादुर गुरुङ बुबा बनेर नक्कली नागरिकता बनाइदिएका थिए । ती नागरिकताहरु भद्रपुर ९ को ठेगानामा ६ वटा, बिर्तामोडको ५, शरणामति ३ र बाहुनडाँगीको ठेगानाबाट २ वटा बनाइएका छन् ।

१६ वटा नक्कली नागरिकता बनाउन १७ जनाले सनाखत गरेका छन् । शरणामति ठेगाना रहेका नागरिकतामा झापा गाउँपालिका ६ नम्बर वडा कार्यालयमा सचिव भवकृष्ण न्यौपानेको समेत संलग्नता देखिएको डीएसपी श्रेष्ठले बताए । प्रहरीकाअनुसार नक्कली नागरिकता निर्माण गर्न भद्रपुरका सूर्यबहादुर खड्का, प्रेमराज तिम्सिना तथा बिर्तामोडका भीमबहादुर लिम्बू र बागबीर तामाङले बिचौलियाको भूमिका निर्वाह गरेका थिए ।

उनीहरुले ०७३ मंसिर १३ गते लोवसाङ गुरुङ, ०७३ माघ ११ गते पेमा डोल्कर गुरुङ, डोल्मा गुरुङ र छिरिङ डिकी गुरुङ, ०७६ जेठ ६ गते छिरिङ शेर्पा, धोनसेर गुरुङ, नवाङ केचन तामाङ, वाङमो गुरुङ, डोल्मा गुरुङ, ०७६ जेठ १४ गते रिगजेन छोडेन गुरुङ, नवाङ शिराप गुरुङ, लाक्पा शेर्पा, सन्जय अग्रवाल, सन्जय साह, ०७६ जेठ २१ गते ज्योति विश्वास दास र अयुव आलमलाई नेपाली नागरिकता बनाईदिएका हुन् ।

नागरिकता काण्डमा मुछिएपछि दुवै वडाध्यक्ष कार्यबहाक दिएर सम्पर्क विहीन छन् । कार्कीले असार ८ गते वडा सदस्य दीपक भट्टराईलाई कार्यबहाक दिएका छन् । राजवंशीले असार २४ गते वडा सदस्य रामप्रसाद दाहाललाई कार्यबहाक दिएका हुन् । बिर्तामोड ८ का वडा सचिव समेत पक्राउ परेपछि वडा कार्यालय सचिव विहीन छ ।

बिर्तामोड ८ मा वडा ९ का सचिव सुवास विकले हेर्दै आइरहेका छन् । ‘जनताबाट प्रत्यक्ष निर्वाचित भएका वडाध्यक्ष नै नभएपछि काम गर्न थोरै गाह्रो हुँदोरहेछ’ भद्रपुर ९ का काब अध्यक्ष दाहालले भने, ‘जनताले आशा गरेर उहाँलाई वडाध्यक्षमा जिताएका थिए । तर, अहिले गम्भीर आरोपमा फरार हुनुहुन्छ ।’

बिर्तामोड ८ का काब अध्यक्ष भट्टराईले वडाध्यक्ष फरार रहे पनि जनताको कुनै काम नरोकेको बताए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको नागरिकता काण्डको फाइल भदौं १३ गते जिल्ला प्रहरीलाई जिम्मा लगाएको छ । प्रहरीले उक्त घटनामा मुछिएका सबैलाई ‘संगठित अपराध’ अन्तर्गत मुद्दा चलाउने तयारी समेत गरिरहेको छ ।

कान्तिपुरमा अर्जुन राजवंशीले लेखेको समाचार

प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]