समयमा अव्यवस्थित जनप्रतिनिधि
सम्पादकीय
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रममा सहभागी हुन भ्याइनभ्याई छ । स्वभाविक रुपमा आफ्ना जनप्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी गराउने सबैको लक्ष्य हुन्छ । कार्यक्रमको गरिमा बढाउन र आफ्ना समस्याहरु राख्न प्रायःजनप्रतिनिधिहरुलाई कार्यक्रममा अनिवार्य रुपमा सहभागिता गराइन्छ । जनप्रतिनिधिहरु आम नागरिकको समस्या समाधान गर्ने पहिलो पक्ष हो । जसले नागरिकको सुख,दुखमा साथ दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । तर, जनप्रतिनिधिहरुले अनेक कार्यक्रममा सहभागी हुँदा स्थानीय तहको सबैजसो योजना प्रभावित भइरहेको छ ।
जनप्रतिनिधिहरु कार्यक्रममा सहभागी नै नहुन त ? त्यो पनि होइन । जनप्रतिनिधिहरु प्रतिनिधिमुलक हिसावले सहभागी जनाउनुपर्छ । वडा सदस्यदेखि मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष जो कोहीलाई कार्यक्रममा सहभागी गराउन सकिन्छ । एउटै कार्यक्रममा वडाध्यक्षदेखि मेयर, उपमेयर सबैलाई बोलाएर समय खर्च गर्न हुदैन । आवश्यकताका आधारमा कम्तिमा एक जनाको प्रतिनिधित्व गराउ । जनप्रतिनिधिहरुको समय धेरै खर्च गराइरहदा धेरै सेवाग्राहीले दुख पाउनुपर्छ । यसैले पालिकाको कामलाई समय दिन पनि कार्यक्रममा बोलाउदा ख्याल गरियोस् । आफ्नो कार्यक्रम मात्र हेरेर हुदैन । नागरिकको काम र समयलाई पनि ख्याल गर्नुपर्छ ।
एउटा सामान्य कार्यक्रममा मेयर, उपमेयर सबै उपस्थित भइरहन जरुरी छैन । निम्तो आयो भन्दैमा सबैले लाइन लागेर जान हुदैन । मेचीनगरमा भर्खरै एउटा विधालयको भवन शिलान्यास भयो । जहाँ मेयर, उपमेयर नै शिलान्यासमा सहभागी भए । एक जनाले शिलान्यास गर्दा हुन्छ । प्रमुख अतिथी एक जना हुने हो । दुवै जनाले अनिवार्य उपस्थिति हुनुपर्छ भन्ने मान्यतालाई हटाउनुपर्छ । अहिले झापा जिल्लाभरका पालिकाहरुमा जनप्रतिनिधिले समय व्यवस्थापन गर्न नसकेको देखिन्छ । पालिकाका नियमति काम, बैठक, योजनासँग सम्बन्धित पक्षसँगको बैठक, नागरिकका काम, अनुगमन, सार्वजनिक कार्यक्रमका लागि समय तालिका आवश्यक छ । कार्यक्रममा सहभागी मात्रै भइरहने हो भने पालिकाले पनि खासै परिणाम निकाल्न सक्दैन । समय व्यवस्थापनमा जनप्रतिनिधिहरुले ख्याल गर्न आवश्यक छ ।