जेष्ठ ६, २०८१ आईतबार

हात्तीपाइले विरुद्धको औषधी खाऔं

सम्पादकीय
झापामा फागुन ११ गतेबाट हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सञ्चालन हुदैछ । १६ गतेसम्म सञ्चालन हुने कार्यक्रममा तालिम प्राप्त स्वास्थ्यकर्मीले औषधी खुवाउने छन् । यो अभियानमा कोहि पनि छुट्नु हुदैन । हात्तीपाइले रोगबाट सुरक्षित हुनलाई औषधि सेवन गर्नैपर्छ । खाली पेटमा हात्तीपाइलेको औषधि सेवन गर्नुहुँदैन । शरीरमा हात्तीपाइलेको परजीवी भएका व्यक्तिमा औषधि सेवनपछि पनि सामान्य खालको टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन्छ । यी लक्षण देखिएमा औषधिले प्रभावकारी काम गरेको बुझ्नुपर्छ ।

स्थानीय तहहरुले आ–आफ्ना पालिकाले हात्तीपाइले विरुद्धको औषधी खुवाउने छन् । त्यसको नेतृत्व स्वास्थ्य शाखाले गर्नेछन् । दुई वर्ष उमेर नपुगेका बच्चा । गर्भवती तथा सात दिन नपुगेका सुत्केरी । सिकिस्त बिरामी भएका तथा कडा रोग, जस्तोः क्यान्सरपीडित । मुटुरोगी, कलेजो तथा फोक्सोसँग सम्बन्धित रोग लागेका व्यक्ति, छारेरोगी तथा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकाले यो औषधि खानुहुँदैन । त्यसैले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम मात्रै औषधीको सेवन गर्नुपर्छ । यदि खान नमिल्नेहरु औषधी खाएमा त्यसले नकारात्मक असर गर्नेछ ।

हात्तीपाइले मानिसलाई शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांगता बनाउने एक प्रकारको नसर्ने रोग हो । यो रोग मसिनो धागो आकारको जुकाजस्तै फाइलेरिया नामक परजीवीको संक्रमणबाट हुने गर्छ । क्युलेक्स वा एनोफिलिस नामक पोथी लामखुट्टेले टोक्दा फाइलेरिया परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ जसबाट हात्तीपाइले रोग लाग्ने गर्छ । संक्रमित भएको केही वर्षपछि मात्र मानिसमा यसका लक्षण देखिन्छन् । केही मानिसमा हात्तीपाइलेको संक्रमण भए पनि कुनै पनि किसिमको लक्षण देखिँदैन । संक्रमित मानिसको रगत नमुना रातिको समयमा लिएर परीक्षण गर्दा परजीवी देखिन सक्छ । सुजन भएको (सुन्निएको) शरीरको अंगमा भिडियो एक्स रे गरेर हेर्दा लिम्फ भेसेल (पत्र वा जालो) फैलिएको तथा वयस्क जुकाका झुप्पा देखिन सक्छन् । यसैले यो रोगबारे बेलैमा सचेतना अपनाउन सकियो भने ठुलो समस्याबाट बच्न सकिन्छ । त्यसका लागि स्वास्थ्य परीक्षण र औषधी सेवन अनिवार्य छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहीबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]