जेष्ठ २, २०८२ बिहीबार

धेरैको रोजाईमा स्थानीय उत्पादन

झापा । गत फागुन ५ गतेबाट बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ ।

महोत्सवमा सहभागी मध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव अवलोकनका लागि आउनु भएकी बिर्तामोड ५ निवासी अजिशा लिम्बूले घरेलु मदिरा (लोकल वाइन र रक्सी) तथा हस्तकलाका सामग्री बढी मन परेको बताउनुभयो ।

महोत्सवस्थलमा पहिलो पटक पुग्नु भएको अजिशाले भन्नुभयो ‘थारु समुदायको मौलिक खानाका परिकार, विभिन्न जात जातिका सांस्कृतिक कार्यक्रम महोत्सवको आकर्षण लाग्यो । यसले हाम्रो संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन दुवै हुनेमा म विश्वस्त छु । अझ महिला दिदी बहिनीहरुले आफ्नै हातले सेल रोटी बनाएर बिक्री गरेको देख्दा र खाँदा बेग्लै आनन्द लाग्यो ।’

एक रुपैयाँको चिया खाएर एक सय ८० रुपैयाँको चियाको प्याकेट खरिद गर्नु भएकी बिर्तामोड ५ निवासी गंगा लुईटेल चियाको प्रशंसक नै बन्नु भएको छ । मलाई घरमा आवश्यक पर्ने चिया आफन्तबाटै आउँछ तर प्रोत्साहनका लागि भएपनि यहाँ विक्रीका लागि राखिएको दुई प्याकेट चिया खरिद गरेकी छु लुईटेलले भन्नुभयो ‘हाम्रो ठाउँमा महोत्सव लागेको छ हामीले प्रोत्साहन गर्नुपर्छ ।’ महोत्सव शुरु भएपछि नै जुम्लाको स्याउ खरिद गर्नु भएकी उहाँले आफू जुम्लाको स्याउको फ्यान भएको बताउनुभयो । जुम्लाको स्याउ असाध्यै मिठो रहेछ उहाँले भन्नुभयो । लुँइटेलले भन्नुभयो ‘फुजीको स्याउ भन्दा ५० रुपैयाँ महंगो पर्ला जुम्लाकै स्याउ खानु राम्रो । स्वदेशी उत्पादनलाई नै हामीले प्रोत्साहन गर्नु पर्छ । म त यही स्याउ अबदेखि खोजीखोजी खान्छु ।’

महोत्सवमा सहभागी मध्ये बुद्धशान्ति गाउँपालिका निवासी खगेन्द्र मैनालीले व्यवसायमा महोत्सवले आशा र उर्जा दुवै थपेको बताउनुभयो ।

महोत्सवमा ब्यापार कति भयो भनेर हिसाव गर्ने भन्दा पनि हामीसंग पछिसम्म हुने गरी कति सेवाग्राही जोडिए भन्ने कुरा महत्वपूर्ण हुन्छ । उहाँले भन्नुभयो ‘सेवाग्राही जोडिनु व्यवसायीका लागि ठूलो सम्पत्ति हो । यहाँ पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्मका व्यापारी व्यवसायी उपभोक्तासंग जोडिएका छन् । यो आफैमा खुशीको कुरा हो ।’

महोत्सवमा सहभागी मध्ये उनीहरु प्रतिनिधि मात्र हुन् । उनीहरु जस्ता धेरैले महोत्सवको प्रशंसा गरेका छन् । महोत्सवमा बालवालिकादेखि वृद्धवृद्धा समेतको उल्लेख्य सहभागीता रहेने गरेको छ ।

 

प्रकाशित मिति : फाल्गुन १३, २०७९ शनिबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]