चैत्र १५, २०८० बिहीबार

अर्जुनधारमा चर्कियो कक्षा ८ को ‘परीक्षा केन्द्र’ विवाद

शिक्षा प्रमुखले रिजल्ट बेचेको आरोप

गगन ढकाल

झापा । अर्जुनधारा नगरपालिकामा कक्षा – ८ को नगर स्तरीय परीक्षाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । नगर शिक्षा शाखाले अन्तरविद्यालय परीक्षा गर्न परीक्षा मिति र परीक्षा केन्द्रको नाम सार्वजनिक गरेसँगै विवाद उत्पन्न भएको हो ।

शिक्षा ऐन २०७४ का अनुसार नगर कार्यपालिकाले नगर शिक्षा शाखाको माताहतमा हुने गरि नगर परीक्षा समिति निर्माण गरि कक्षा ८ को परीक्षाको बारेमा परीक्षा केन्द्र र परीक्षा मिति लगायतको विषयमा निर्णय गर्न सक्ने प्रावधान रहेको छ । तर, अर्जुनधाराको नगर शिक्षा शाखाको प्रमुख तोयानाथ रेग्मीले नगर परीक्षा समिति बिनै मनलाग्दी ढंगले परीक्षा केन्द्र र मिति तोक्दा विवाद सिर्जना भएको हो ।

नगर शिक्षा शाखाले अवैज्ञानिक ढंगले परीक्षा केन्द्र र मिति तोकेको प्याब्सन, शिक्षक संगठन, शिक्षक संघ र शिक्षक महासंघ अर्जुनधाराले बताएका छन् । शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदी भन्छन् ‘विद्यार्थीहरुले परीक्षा दिन कै निम्ति कम्तिमा पनि आठ देखि १० किलोमिटर हिड्न पर्ने गरि परीक्षा केन्द्र तोकिएको छ । जबकी हाम्रा सबै नानीहरुको उमेर समूह १२ देखि १४ मात्रै छ । नगर शिक्षाले परीक्षा केन्द्रको दुरीले नै विद्यार्थीहरुलाई आक्रान्त बनाउने काम गरिरहेको छ ।’

यो वर्ष विद्यार्थीहरुले १० महिना मात्र पढ्न पाएको शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष सुवेदीले बताए । उनी भन्छन् ‘जेठ महिनाबाट विद्यालय लाग्न सुरु भए पनि पुस्तकहरु भदौ–असोजमा मात्रै उपलब्ध भएको थियो । नगर शिक्षाले चार वटा परीक्षा केन्द्र तोकेको छ , जुन केन्द्रहरु सामुदायिक विद्यालयलाई अपायक पर्ने र संस्थागत विद्यालयलाई पायक पर्ने गरि तोकिएको छ । उनी भन्छन् ‘नगर शिक्षाले विद्याार्थीहरुलाई दुःख दिने नियतले टाढा परीक्षा केन्द्र तोकेको छ । हाम्रो पालिकाको शिक्षा शाखा विद्यार्थीहरुप्रति उत्तरदायी हुनुको साटो अनुत्तरदायी बनेको छ । शाखाले विद्यार्थीहरुको भविष्यप्रति बद्नियत राखेको छ ।’

शिक्षक महासंघका अध्यक्ष सुवेदीले नगर शिक्षा प्रमुख तोयानाथ रेग्मीले कक्षा –८ को रिजल्ट बेचेको आरोप लगाएका छन् । उनी भन्छन् ‘हाम्रो शिक्षा शाखाले कक्षा –८ को रिजल्ट बेच्छ । संस्थागत विद्यालयको विद्यार्थीहरुलाई नियत साथ फेल बनाउने र उनीहरुबाट पौसा असुलेर रिजल्ट बेच्ने काम नगर शिक्षाले गर्छ । शिक्षा प्रमुख तोयानाथ रेग्मीद्वारा रिजल्ट बेच्ने काम पहिला पनि भईसकेको छ ।’, उनले भने ‘शाखा प्रमुखले ०७७ सालको परीक्षामा संस्थागत विद्यालयका सञ्चालकहरुलाई तेरो यति विद्यार्थी फेल भएका छन् पैसा लिएर आइज पास बनाइदिन्छु भनेको पाइएको छ । यस पटक पनि रिजल्ट बेच्नलाई नै अन्तरविद्यालय परीक्षा गराउन खोजिएको हो ।’

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलाले पनि नगर शिक्षा शाखाले रिजल्ट बेच्ने गरेको बताएका छन् । उनी भन्छन् ‘संस्थागत विद्यालयको विद्यार्थीहरुलाई फेल बनाएर प्रति विद्यार्थी रु पाँच हजारका दरले नगर शिक्षा प्रमुख तोयानाथ रेग्मीले घरैमा विद्यालयका सञ्चालकहरुलाई बोलाएर पैसा मागेका थिए । हामीले यो विषयमा ०७७ सालमा नगर शिक्षा शाखामा ताला पनि लगाएका थियौं ।’

विद्यार्थीको भविष्य बारे बेवस्था गरेर शिक्षा शाखाले परीक्षा मिति र केन्द्र तोकेको प्याब्सन अध्यक्ष सिटौलाले बताएका छन् । उनी भन्छन् ‘परीक्षा समितिको निर्माण नै नगरी शिक्षा शाखा प्रमुखले स्वेच्छाचारी ढंगले परीक्षाको मिति र केन्द्र तोकेको छ । त्यति मात्रै हैन, शाखाले प्याब्सन, शिक्षक संघ, संगठन र महासंघको अस्तित्वलाई समेत लात हानेको छ ।’, उनी भन्छन् ‘शाखाले विद्यार्थीलाई आक्रान्त बनाउने काम गर्यो त्यसैले हामी आन्दोलित भएका हौं । शाखाले आफ्नो निर्णय परिवर्तन नगरे विद्यार्थीको भविष्यको निम्ति हामी परीक्षामा सामेल नहुने र शाखामा ताला लगाउने सम्मको काम गर्न सक्छौं ।’

प्याब्सन, शिक्षक संघ, संगठन र महासंघले सोमबार अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर शिक्षा शाखाकी अधिकृत सुनिता भट्टराई र सामाजिक विकास शाखाका प्रतिनिधि भोला परियारसँग छलफल गरी मागहरु समेत राखेको छ । उनीहरुले नगरप्रमुख समक्ष तत्काल परीक्षा समिति निर्माण हुनुपर्ने, नगरको जनप्रतिनिधिहरुको नेतृत्वमा परीक्षा अनुगमन समिति निर्माण हुनुपर्ने, शाखाले हाल तोकेको केन्द्रमा परीक्षा नगर्ने, होम सेन्टरको माग र अन्तर विद्यालय परीक्षा नै गर्न पर्ने वैज्ञानिक शैलीमा परीक्षा केन्द्र तोकिनु पर्ने लगायतका मागहरु राखेका छन् ।

कक्षा –८ को परीक्षाकोे विषयलाई लिएर नगरमा कुनै पनि विवाद भएको आफूलाई जानकारी नभएको नगर शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीले बताएका छन् । उनी भन्छन् ‘परीक्षाको विषलाई लिएर कुनै पनि विवाद भएको मलाई थाहा छैन । साथीहरुले परीक्षा केन्द्रको कुरा गर्नु भएको हो भने कोभिड अगाडि पनि यिनै परीक्षा केन्द्रहरुमा यसरी नै परीक्षा भइसकेका छन् ।’, उनी भन्छन् ‘परीक्षा समितिसँग छलफल गरेर परीक्षाको मिति र केन्द्रहरु तोकिएको छ । साथीहरुको गुनासो के रहेछन् म भोली नै बुझेर छलफल मार्फत सुल्झाउने छु ।’

आफू माथि रिजल्ट बेचेको आरोप निराधार रहेको उनले बताएका छन् । उनी भन्छन् ‘जसले यस्तो निराधार र बेतुकको आरोप लगाउनु भएको छ । उहाँहरुले आरोप प्रमाणित गरिदिनुहोस् कानुनले तोके बमोजिमको सजाय भोग्न म तयार छु ।’

नगर शिक्षा शाखाले कक्षा –८ को परीक्षा चैत १७ देखि २७ सम्मलाई तोकेको छ भने परीक्षा केन्द्रको रुपमा शनिश्चरे मावि, जनता मावि, भानु मावि र लक्ष्मी मावि गरी चार वटा विद्यालयलाई तोकेको छ ।

 

प्रकाशित मिति : फाल्गुन १६, २०७९ मंगलबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]