बैशाख १३, २०८१ बिहीबार

बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन्छौं : मेयर प्रसाई

बिर्तामोड । बिर्तामोड नगर अस्पतालको नयाँ भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको छ । नगर अस्पतलाबाट अब आम नागरिकले उच्च स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन् ।

आज नगर अस्पतपालमा पत्रकार सम्मेलन गर्दै अस्पतालको सेवा बारे जानकारी दिइएको छ । नयाँ भवनबाट दिइने स्वास्थ्य सेवा थप गुणस्तरीय हुने नगर प्रमुख प्रसाईको भनाई छ । बिर्तामोडका नगरवासीले उपचारका लागि प्राइभेट अस्पताल नै जानुपर्ने बाध्यता नरहेको उनको धारणा थियो । नगर प्रमुख प्रसाईले भनिन्, ‘उपचारका लागि नगर अस्पताल आए हुन्छ । गुणस्तरीय र विश्वसनीय सेवा दिन तयार छौं ।’

नगर अस्पतालको मेसुका रुपमा डा. सुनिल अधिकारीलाई नियुक्ति गरिएको नगर प्रमुख प्रसाईले जानकारी दिएकी छन् । उनले नगर अस्पतालबाट विशेषज्ञ डाक्टर (एम.डी.जी.पी) र ३ जना एमवीवीएस डाक्टरले सेवा दिने बताइन् ।
नयाँ भवन र डाक्टरको सुविधा थप भएपछि अस्पतालमा दैनिक २५० देखि ४०० विरामी उपचारका लागि आउने गरेको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए । उनले यो संख्या बढेर जाने विश्वास गरेका छन् ।

बिर्तामोडबासीको स्वास्थ्य सेवामा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने नगर प्रमुख प्रसाईको दावी छ । उनले भनिन्, सबै स्वास्थ्य सेवा सहजै पाइने भएपछि अन्यत्र जानुपर्दैन । सभामुख देवराज घिमिरेबाट फागुन २० गते अस्पतालको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ ।

नगर अस्पतालमा स्वास्थ्य बीमा पूर्ण रुपमा लागु भइसकेको छ भने दैनिक ओपीडीसहितको उपचार तथा परामर्श सेवा सुरु गरिएको छ । अस्पतालमा प्रयोगशाला सेवा समेत सञ्चालनमा आइसकेको छ । भिडियो एक्स–रे, एक्स–रे, इसीजी, २४ घण्टे इमरजेन्सी सेवा, २४ घण्टे सुरक्षित प्रसुती सेवा र ६ वटा डाइलोसिस मेसिनसहितको सेवा सञ्चालनको अन्तिम तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गर्भवती जाँच सेवा, परिवार नियोजन सेवा, पाठेघरको मुखको क्यान्सर जाँच, निशुल्क सुरक्षित गर्भपत सेवा, बच्चाहरुमा हुने कुपोषण जाँच तथा व्यवस्थापन, नेपाल सरकारबाट तोकिएका ९८ प्रकारका औषधिको निशुल्क वितरण, नसर्ने रोगको जाँच तथा नेपाल सरकारद्वारा तोकिएका औषधि वितरण, किटजन्य कोभिडको निशुल्क जाँच, खोप कार्यक्रम, निरोगिता प्रमाणपत्र दिने सेवा सञ्चालनमा रहेको छ ।

नगर अस्पतालमा १ जना मेसु (विशेषज्ञ डाक्टर), ३ जना एमवीवीएस डाक्टरसहित ३६ जनाको जनशक्तिले सेवा प्रदान गर्नेछ । नगर प्रमुखको अध्यक्षतामा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन भइसकेको छ ।
अस्पतालको पूर्व भागमा साढे १८ करोड लागतमा भव्य ३ तले भवन निर्माणको प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । उनले निकट भविष्यमा थाइराइड जाँच र रेविज विरुद्धको भ्याक्सिन सञ्चालन गरिने जानकारी दिए ।

नगर अस्पतालले पाटन अस्पतालमा कार्यरत डा. सुनिल अधिकारीलाई मेडिकल सुपरिटेन्डेन्टको रुपमा नियुक्ति गरिसकेको छ । पाटनमा ४ वर्ष र जोरपाटीको शंकरापुर अस्पतालमा १ वर्ष बढी काम गरिसकेका डा. अधिकारीले बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्न कुनै कठिनाई नहुने जानकारी दिए । उनले नगरपालिका नै नगरबासीको स्वास्थ्य सेवाप्रति जिम्मेवार बनेको उनको भनाई छ । डा. अधिकारीले स्वास्थ्य सेवामा विश्वसनीय बनाउन सबैको सकारात्मक सहयोग हुनुपर्ने बताएका छन् । उनले अस्पतालमा सुत्केरी गराउन सुरुआतबाटै स्वास्थ्य जाँच, सल्लाह सुझाव र अस्पतालबाट प्रदान गरिने सुविधा बारे जानकारी दिने बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ११ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]