अदालतले आलमलाई छाड्न मानेन
रौतहट –नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थुनामुक्त गर्न अस्विकार गरिदिएको छ । अदालतले थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

छानबिन गर्न प्रहरीले म्याद थपका लागि शुक्रबार जिल्ला अदालत रौतहटमा पेश गरेको थियो । न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएको भन्दै प्रहरीको माग अनुसार आठ दिनको म्याद थप गरेको अदालतका श्रेष्तेदार गुणराज पराजुलीले जानकारी दिनुभयो ।
यसअघि थपिएको ५ दिनको म्याद विहिवार सकिएपछि आलमलाई आज अदालत लगेर म्याद थप गरिएको हो । भोलिदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेश गर्ने गरी म्याद थप गरिएको छ ।
आलम गत असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै प्रहरीले अदालतमा पेश गरेर ७ दिनको म्याद थपि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रो पटक म्याद थप गरि अनुसन्धान गर्न लागिएको हो ।
आलम रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेहरुलाई इट्टाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका हुन् । यसविषयमा तत्कालिन राज्य संयन्त्रमा रहेकाहरु पनि संलग्न रहेको विभिन्न रिपोर्टले देखाउदै आएको छ ।