डल्फिन कम्पनीसँग सहमति : चालकको शव बुझ्न पीडित परिवार तयार
बिर्तामोड । डल्फिन यातायातका चालक जंग बहादुर राजवंशीको शव परिवारले बुझ्ने भएको छ । आज पीडित परिवार, डल्फिन कम्पनीका प्रतिनिधि, राजवंशी समाज विकास समिति झापा र यातायात व्यवसायी बीच भएको छलफलमा पीडित परिवारको माग सम्बोधन गर्ने सहमति जुटेपछि परिवारले शव बुझ्ने भएको हो ।

राजवंशी विकास समितिका अध्यक्ष पुकार राजवंशीका अनुसार किरिया खर्चका लागि १ लाख र विमा वापत पाइने रकम १ महिनाभित्र परिवारलाई दिने सहमतिका आधारमा परिवारले शव उठाउने भएको छ । आजै किरिया खर्च वापतको रकम परिवारलाई दिने सहमति भएको बताइएको छ । दुर्घटना विमा वापतको ५ लाख वा सामाजिक सुरक्षा कोष अन्तर्गत ७ लाख मध्ये एउटा शिर्षकको रकम मृतक चालकको परिवारलाई दिइने गरी सहमति भएको छ । छलफलले आजै बसहरु छोड्ने र भोली शव उठाउने सहमति गरिएको छ ।
चालक राजवंशीको उपचारको क्रममा मृत्यू भएको थियो । उनको शव अस्पतालबाट बाहिर निकाल्न ५ लाख २५ हजार रकम अभाव भएपछि परिवारले कम्पनी गुहारेको थियो । कम्पनीले शुरुआतमा वास्ता नगरेपछि अन्य चालकले १३ वटा सो कम्पनीका बस इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका थिए ।
गत असोज २६ गते मोरङस्थित उर्लावारीमा भेनसँग ठोक्किएर दुर्घटनामा परेका चालकको बिर्तामोडस्थित विएण्सी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको थियो । डेरा गरी बस्ने राजवंशीको दुई सन्तान छन् । उनीहरुको शिक्षामा कम्पनीको तर्फबाट सहयोग जुटाइने बताइएको छ ।
र, यो पनि पढ्नुहोस् : क्षतिपूर्ति माग्दै डल्फिनका सबै बस प्रहरी कार्यलय बुझाईयो