बैशाख २१, २०८१ शुक्रबार

एनएमसीले मनाइयो ३०औं स्थापना दिवस

बिर्तामोड । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ ।

आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो ।

२०५० साल फागुन २४ गते तत्कालीन काँकरभिट्टा गाविसको एउटा वडालाई कार्यक्षेत्र बनाएर २६ जनाद्वारा स्थापित संस्थामा आज १ लाख ४५ हजारभन्दा बढी सदस्यहरु आवद्ध छन् । नेपालकै अग्रणी सहकारी संस्थाको पहिचान बनाएको एनएमसीले हाल पाँच वटा अलग व्यवसायहरु सञ्चालन गरेर बहुउद्देश्यीय संस्थाको गरीमालाई फराकिलो बनाउँदै लगेको अध्यक्ष रामचन्द्र उप्रेती बताउँछन् ।

बिर्तामोड सेवा केन्द्रमा आयोजित वार्षिकोत्सव समारोहका केन्द्रीय प्रतिनिधि, संस्थाका संस्थापक अध्यक्ष उप्रेतीले ३० वर्षको अन्तरलमा एनएमसी सबै हिसाबले सक्षम भइसकेको बताए । एनएमसीले सदस्यबाट जम्मा भएको निक्षेप र सेयर रकम सदस्यमाझ नै कर्जा लगानी गरेको बताउँदै अध्यक्ष उप्रेतीले सदस्यहरुले फिर्ता लिन चाहेको निक्षेप रकम भुक्तानी गर्न संस्था सक्षम रहेको पनि प्रष्ट पारेका छन् ।

बिर्तामोड सेवा केन्द्र उपसमितिका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले एनएमसीले महिला सदस्यहरु विस्तार गर्न र विभिन्न समितिमा समावेश गर्न चालेका रचनात्मक कदमहरुको प्रशंसा गरेकी थिइन् । संस्थाको स्थापना ८ मार्चमा हुनु, सो दिन अन्तर्रारिष्ट्रय नारी दिवस पर्नु र एनएमसीमा ५३ प्रतिशत सदस्य र कर्मचारीहरु महिला हुनु संयोगमात्र नभएको उनको भनाई थियो ।

बिर्तामोड कार्यालयका प्रमुख हरिमाया ओझाले सञ्चालन गरेको वार्षिकोत्सव समारोहमा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई अपरेशन इन्चार्ज श्रृङ्खला पौडेलले शाब्दिक स्वागत गरेकी थिइन् ।

सो कार्यक्रममा बिर्तामोड सहकारी पसलमा धेरै मूल्यको सामग्री खरिद गर्ने चोमप्रसाद ढकाललाई सम्मान गरिएको थियो । एनएमसीमा आवद्ध भएको दिनदेखि आजसम्मका अनुभवहरुलाई इकाई संयोजक सविता खनाल र कार्यालयका कर्मचारी सुरेश राजवंशीले अनुभव मन्तब्य व्यक्त गरेका थिए ।

स्थापना दिवस तथा वार्षिकोत्सव मनाइएका सबै स्थानमा एउटै कार्यसूचिमा कार्यक्रम सञ्चालन गरिएको कर्पोरेट प्रशासन विभाग प्रमुख चेतन शर्माले जानकारी दिएका छन् ।

संस्था स्थापनाको दिनदेखि नै एनएमसीले कमल गाउँपालिकाको पाडाजुंगीमा रहेको एक सहकारी संस्थासँग एकीकरण गरी एकीकृत कारोबार तथा सेवा केन्द्र सुरु गरेको छ । अब एनएमसी बचत तथा ऋण व्यवसाय अन्तरगत ५८ वटा सेवा केन्द्रहरु भएका छन् ।

प्रकाशित मिति : फाल्गुन २४, २०७९ बुधबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]