चैत्र १६, २०८० शुक्रबार

झापामा ६८.९ प्रतिशतले खाए हात्तीपाइले विरुद्धको औषधि, थपियो पाँच दिन

झापा । झापामा फागुन ११ देखि २४ गतेसम्म ६ लाख ९६ हजार ८ सय २७ जनाले हात्तीपाइले विरुद्धको आम औषधि सेवन गरेका छन् ।

जिल्लामा १० लाख ११ हजार ६४८ जनालाई आम औषधि सेवन गराउने लक्ष्य राखिएको थियो । झापामा ६८.९ प्रतिशतले औषधि सेवन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

बुद्धशान्तिले गाउँपालिकाको कुल जनसंख्यामा ८८.८ प्रतिशतलाई औषधि सेवन गराएको छ भने गौरीगञ्ज नगरपालिकाले ८५.५ प्रतिशत र बिर्तामोडले ७८.८ प्रतिशतलाई औषधि सेवन गराइसकेको छ । २५ गतेको विवरण प्राप्त नभएकाले उल्लेख गरिएको छैन ।

त्यसै गरि सुस्त गतिमा काम गर्ने पालिकामा भद्रपुर नगरपालिका रहेको छ । भद्रपुर नगरपालिकाले कुल जनसंख्यामा ४०.४ प्रतिशतलाई औषधि सेवन गराएको छ भने शिवसताक्षीले ४६.५ प्रतिशत र अर्जुनधाराले ५३.६ प्रतिशतलाई औषधि सेवन गराएको छ ।

सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । २५ गतेसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिए । यसअघि यही फागुन ११ देखि सुरु भएको अभियान फागुन २५ गतेसम्मका लागि मात्र तोकिएको थियो ।

उनले अभियानका क्रममा धेरै बिदा भएकाले कोही नछुटुन् भनेर आजदेखि पुनः पाँच दिन अभियानलाई निरन्तरता दिने बताए । हात्तीपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा यही फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइएको छ ।

औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेका खुट्टा सुनिने, पुरुषमा अण्डकोष सुनिने तथा महिलामा स्तन सुनिने गर्दछ ।

महाशाखाले चार जिल्ला बारा, लमजुङ, पर्वत र बागलुङमा दुई प्रकारको औषधि र ११ जिल्लामा झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, रसुवा, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा तीन प्रकारको औषधि खुवाएको छ । दुई प्रकारको औषधिमा अल्वेण्डाजोल र डाइइथाइल कार्बावाजिन तथा तीन प्रकारको औषधिमा अल्वेण्डाजोल, डाइइथाइल कार्बावाजिन र आइभरमेक्टिन खुवाइन्छ ।

महाशाखाका महानिर्देशक डा दासले चार जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण नदेखिएकाले दुई प्रकारको औषधि र ११ जिल्लामा समुदायस्तरमा सङ्क्रमण देखिएकाले तीन प्रकारको औषधि खुवाउनुपरेको बताए । उनका अनुसार अहिलेसम्म ७९ प्रतिशत औषधि खुवाइएको छ ।

नेपालमा ४४ जिल्लामा गरिएको हात्तिपाइले रोगको मापन अध्ययनले ३१ हजार २९ जनालाई सङ्क्रमण देखिएको छ । अन्य जिल्लाको अध्ययन भइरहेको छ । शरीरमा हात्तीपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन । सरकारले औषधि निःशुल्क उपलब्ध गराउने गर्दछ । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार  ६ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]