बैशाख १५, २०८१ शनिबार

क्यान्सरका बिरामीलाई आर्थिक अभाव

गौरादह । गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिएका छन् ।

फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि उनले पसल बन्द गर्नुपर्ने बाध्यताले आश्रित परिवारसमेत विचल्लीमा परेको छ । आर्थिक अभावकै कारण उपचारमा जान नसक्दा आफ्ना पतिको स्वास्थ्यावस्था दिनानुदिन नाजुक बनिरहेको उनकी पत्नी कुलोमाया ताजपुरियाले बताइन् । जाँच गर्ने आर्थिक अभावकै कारण उनको क्यान्सर कुन चरणमा छ भन्ने पनि थाहा हुन सकेको छैन ।

“बुढालाई रोग लाग्यो, पैसा नभएर औषधी उपचार गर्न सकेका छैनौँ”, उनले उपचारमा आर्थिक सहयोगको अपिल गर्दै भनिन्, “ऋणमाथि ऋण छ । भात खानै मुस्किल परिसक्यो, औषधीकाका लागि कहाँबाट पैसा जुटाउनु ?”
घरमै थलिएका ताजपुरियाको अवस्था थप जटिल हुँदै गएको हुँदा उपचारमा सहयोग पु¥याउन उनकी पत्नी कुलोमायाले दातासँग अपिल गरेकी छन् ।

वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार विराटनगरको नोबेल मेडिकल कलेजमा जाँच गर्दा ताजपुरियाको फोक्सोको क्यान्सर पत्ता लागेको थियो । खर्चकै अभावका कारण उनलाई क्यान्सर उपचारका लागि भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल लैजान नसकिएको हो ।

“उहाँको उपचार सुरु गर्न कम्तीमा चार पाँच लाख रुपैयाँ चाहिन्छ, हामी चन्दा सहयोग जुटाउने प्रयास गरिरहेका छौँ”, वडाध्यक्ष भण्डारीले भने, “जायजेथा केही नभएकाले उनको परिवारले खर्च जुटाउन सक्ने कुनै सम्भावना छैन ।”
ताजपुरिया परिवार निर्धन लघुवित्त वित्तीय संस्थाको सदस्य रहेको छ । आफ्ना सदस्यको स्वास्थ्योपचार गर्ने हैसियत नभएको देखेर निर्धन लघुवित्तले रु १० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

निर्धन लघुवित्तको गौरादह शाखा प्रमुख विवश घिमिरेले ताजपुरियाको घरमै पुगेर सहयोग हस्तान्तरण गर्दै आफ्ना समूह सदस्यभित्र कुनै समस्या परेका खण्डमा सानो रकम सहयोग पु¥याउने संस्थाको उद्देश्य रहेको बताए ।
ताजपुरिया परिवारको उपचारका लागि खर्च गर्ने कुनै स्रोत नभएको जनाउँदै वडाध्यक्ष भण्डारीले दाता र संघसंस्थाबाट चन्दा उठाउनुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले पहल गरिरहेकोसमेत उनले जानकारी दिए । नगरपालिकाले ताजपुरियाको उपचारका लागि भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल लैजान एम्बुलेन्स दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]