बैशाख ११, २०८१ मंगलबार

कतार जाने पचास प्रतिशतले कमी

काठमाडौँ । रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुई हजार ६६५ जना, पुसमा दुई हजार ५०६ जना र माघ महिना दुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ ।

आव २०७८÷७९ मा मङ्सिर महिनामा सात हजार ७१ जना, पुस महिनामा छ हजार ८९ जना, माघ महिनामा छ हजार ५४४ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क विभागसँग छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा कतारका लागि २६ हजार २२० जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सो अवधिमा भने ५० हजार ६४१ जनाले कतारका लागि श्रम स्वीकृति लिएका थिए । यो तथ्याङ्क हेर्दा पनि पछिल्लो वर्ष कतारमा रोजगारीको आकर्षण घटेको पुष्टि हुन्छ ।

विभागका महानिर्देशक उमाकान्त अर्यालले कतारमा विश्वकपपछि रोजगारीका लागि जाने नेपाली श्रमिकको सङ्ख्या ह्वात्तै घटेको बताउनुभयो । कतारमा अधिकांश निर्माण कम्पनीमा कामको माग हुने गरेको र विश्वकप सकिएसँगै माग घटेकाले कतारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या पनि घटेको उहाँको भनाइ छ ।

विभागका अनुसार कतारका लागि कात्तिक महिनामा चार हजार ३१३ जना, असोजमा चार हजार ५८६ जना, भदौमा चार हजार ९८४ जना र साउनमा चार हजार ९६९ जनाले श्रम स्वीकृति लिएका छन् । कतारमा रहेको नेपाली दूतावासले पनि विश्वकप सकिएपछि नेपाली मात्रै नभएर सबै आप्रवासी श्रमिकको सङ्ख्या घटेको जनाएको छ ।

कतारमा अहिले कम्पनीले धमाधम श्रमिक कटौती गर्न थालेको कतारबाट फर्केका नेपाली युवाले बताएका छन् । विगत आठ वर्षदेखि कतारमा काम गरेर एक महिनाअघि मात्रै स्वदेश फर्किनुभएका चितवनका विकास खनालले कतारमा अधिकांश कम्पनीले श्रमिकको कटौती गरेको र त्यही कटौतीमै परेर आफू स्वदेश फर्किएको अनुभव सुनाउनुभयो ।

पहिले कतारमा काम र दाम ठीक भएको बताउने उहाँले पछिल्लो समय कम्पनी बन्द गर्ने र श्रमिक कटौती गर्ने क्रम बढेपछि स्वदेश फर्किएको उहाँले बताउनुभयो ।

नेपाल सरकार र कतार सरकारको पछिल्लो सम्झौताअनुसार कतारका लागि श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकले एउटा कम्पनी बन्द भए अर्को कम्पनीमा जान पाइन्छ । निर्माणको क्षेत्रमा काम गर्दै आएका धेरैजसो कम्पनी बन्द हुने क्रम बढेपछि विकल्प नपाएर धेरै स्वदेश फर्किने क्रम पछिल्लो पटक बढेको दूतावासले जनाएको छ ।

खनालले पछिल्लो पटक अनलाइनबाटै कम्पनी परिर्वतन गरेर अर्को कम्पनीमा काम गर्न पाइने व्यवस्थाले कतिपय साथी पुुनः कम्पनी परिवर्तन गरेर काम गर्न थालेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]