बैशाख १३, २०८१ बिहीबार

के हो काँकरभिट्टा क्याम्पसको विवाद ?

गगन ढकाल

काँकरभिट्टा । हरेक दिनको विवादले काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्योल भएको छ । क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलित छ ।

अनेरास्ववियु गत फागुन १९ गतेदेखि आन्दोलनरत छ । यद्दपि, क्याम्पसको निर्वाचन समितिले निर्वाचनको कार्यक्रमहरुलाई अगाडि बढाइरहेको छ । बुधबार क्याम्पस प्रशासनले चौरमा बसेर उम्मेदवारहरुको मनोदयन दर्ता गराउने कार्यक्रम अगाडि बढाएसँगै स्थिति तनावग्रस्त बनेको हो ।

बुधबार भएको सम्पूर्ण मनोनयन दर्ताको कागजात अनेरास्ववियु काँकरभिट्टा क्याम्पस कमिटिले जलाएको छ । एउटा विद्यार्थी संगठन आन्दोलनरत भइरहँदा क्याम्पस प्रशासनले वेवास्ता गरी निर्वाचन कार्यक्रम अगाडि बढाएकोले अनेरास्ववियुले मनोनयन पत्र जलाउन बाध्य भएको क्याम्पस कमिटीका सचिव संगम बरालले बताएका छन् ।

अनेरास्ववियुले क्यापसको मुल गेटमै तालासमेत लगाएको छ । मुल गेटमा ताला लगाएर ‘क्याम्पस प्रशासन मुर्दावाद’ को नारा लगाउँदै आन्दोलन गरिरहेको एमाले निकट अनेरास्ववियुलाई एकीकृत समाजवादी निकट अनेरास्ववियूले हस्तक्षेप गर्ने प्रयास गर्दा क्यापसमा सामान्य झडपसमेत भएको थियो । उक्त झडपका क्रममा अनेरास्ववियु जिल्ला कमिटी कार्यालय सचिव सन्तोष धमला र क्यापस कमिटीका अध्यक्ष सन्देश पौडेललाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ समेत गरेको थियो ।

अपरान्ह ५ बजे सर्वदलीय/सर्वपक्षीय छलफलबाट पक्राउ परेका अनेरास्ववियुका कार्याकर्ताहरुलाई थुनामुक्त गरिएको छ । उक्त छलफल बिहीवार विद्यार्थी संगठनहरुसहित छलफल गर्ने निर्णय गर्दै सर्वदलीय/सर्वपक्षीय छलफल सकिएको थियो ।

विवादको जड
विवादको चुरो बुझ्न फागुन १९ मा फर्किनुपर्ने हुन्छ । अनेरास्ववियु काँकरभिट्टा क्याम्पस कमिटीले फागुन १९ गते होली मिलन कार्यक्रम गर्नका निम्ति १५ गते नै क्याम्पस प्रशासनमा पत्र बुझाई अनुमति लिएको थियो । तर, फागुन १९ गते अनेरास्ववियु पूर्व निर्धारित कार्यक्रम गर्न क्याम्पस पुग्दा निर्वाचन समितिले निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरि अनेरास्ववियुले कार्यक्रम गर्न लागेको सार्वजनिक हलमा ताला लगाइयो । निर्वाचन समितिले आचारसंहिता लागु भएको भनेर अनेरास्ववियुलाई होली मिलन कार्यक्रम गर्न दिएन । तर, निर्वाचन प्रयोजनका निम्ति विद्यार्थी भर्ना गर्ने काम भने क्याम्पसले जारी राख्यो । आचारसंहिता देखाएर अनेरास्ववियुको कार्यक्रम रोक्ने निर्वाचन आयोगले निर्वाचन प्रयोजनका निम्ति विद्यार्थी भर्ना गर्ने काम नरोकेकाले अनेरास्ववियु आन्दोलित भयो । क्याम्पस प्रशासनको सम्पूर्ण गतिविधि अनेरास्ववियु विरुद्ध अझै जारी रहेको सम्बद्ध विद्यार्थी नेताहरुको आरोप छ ।

आन्दोलित अनेरास्ववियुले आचारसंहिता लागु भएपछि विद्यार्थी भर्नाको काम पनि रोकिनु पर्ने मागअघि सार्दै फागुन १९ गते भर्ना गरिएको १ सय २६ जना विद्यार्थीहरुले निर्वाचन प्रक्रियामा भाग लिन पाउनु हुँदैन भन्ने माग राखेको छ । तर, निर्वाचन समिति भने मनोनयन दर्ता हुनुभन्दा दुई दिन अगाडि अर्थात फागुन १९ को दिन गरिएको सम्पूर्ण भर्ना वैद्य भनेको छ ।

अनेरास्ववियुले १९ गते निर्वाचन समितिको कार्यालयमा ताला लगाउन खोज्दा क्याम्पस प्रशासनले प्रहरी परिचालन गरी ताला लगाउन दिएन । उक्त दिनको समस्यालाई साम्य पार्न निर्वाचन समितिले निर्वाचन कार्यक्रम स्थगन गरिएको सूचना सार्वजनिक गरिदियो ।

क्याम्पसले दुई दिनपछि सम्पूर्ण विद्यार्थी संगठनलाई बोलाएर निर्वाचन कार्यक्रम पुनः सञ्चालन गर्ने छलफल चलायो । उक्त छलफलमा अनेरास्ववियुले १९ गते भर्ना गरिएको विद्यार्थीहरुले निर्वाचन प्रक्रियामा भाग लिन नपाउने माग राखेपछि छलफलमा सहमति जुट्न सकेन । अनेरास्ववियुले उक्त छलफलमा भएका निर्णयहरुको बहिस्कार गर्दै आएको छ ।

त्यस पश्चात अनेरास्ववियुले फागुन २६ गते आफ्नो मागको सम्बोधन गर्नुको सट्टा आफूहरुलाई वेवास्ता गरी निर्वाचन कार्यक्रम अगाडि बढाएको आरोप लगाउँदै निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो । २७ गते निर्वाचन समितिले कार्यालय बन्द भएको कारण चौरमा आएर मनोनयन दर्ताको काम अगाडि बढायो । त्यसपछि उक्त दिनको सम्पूर्ण कागजात अनेरास्ववियुले च्यात्दै आफ्नो माग पुरा हुनुपर्ने भन्दै नारा लगाएको थियो । त्यस पश्चात पुनः निर्वाचन समितिले निर्वाचनका कार्यक्रमहरु रोकिदियो ।

क्याम्पसले पटक–पटक निर्वाचन कार्यक्रम स्थगन गरेपछि सर्वलदीय बैठक बसेर चैत ५ मा स्ववियु निर्वाचन गर्ने सहमति गर्दै पुनः मनोनयन दर्ताको लागि चैत १ को मिति तोकिएको थियो । तर, बुधबार तनाव अझ बढेपछि चुनाव हुने नहुने अन्योलता बढेको छ ।

यसैगरी, क्याम्पसका निर्वाचन समिति संयोजक हेम खड्काले कुनै एक संगठनले बिरोध गर्दैमा निर्वाचन नरोकिने बताएका छन् । उनी भन्छन्, ‘लोकतन्त्रमा चुनावमा भाग लिन्न पनि भन्न पाइन्छ । एउटा संगठनले बिरोध गर्यो भन्दैमा निर्वाचन सर्ने रोकिने हुँदैन ।’

त्रिविको स्ववियु निर्वाचन सम्बन्धी आचारसंहिता अनुसार निर्वाचन समितिले कार्यालयमा बसेर मनोनयनको काम गर्नुपर्ने हुन्छ । तर, काँकरभिट्टाको निर्वाचन समितिले मैदानमा बसेर निर्वाचन कार्यक्रम अगाडि बढाइरहेको छ ।

अनेरास्ववियुले क्याम्पसको निर्वाचन कार्यालयमा ताला लागाउँदा समेत प्रशासनले निर्वाचन कार्यक्रम अगाडि बढाएकोमा आन्दोलनरत विद्यार्थीहरुले क्यापसको निर्वाचन समितिको गतिविधि निरंकुुश भएको दावी गरेका छन् ।

प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]