चैत्र १६, २०८० शुक्रबार

जनगणनाको प्रतिवेदन चैत १० गते सार्वजनिक हुने

काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को नतिजा आगामी चैत १० गते सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यलयले दिएको जानकारी अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले सो प्रतिवेदन सावर्जनिक गर्ने कार्यक्रम रहेको छ । कार्यलय स्रोतका अनुसार जाती,भाषा,धर्म लगायतको विवरण बाहेकका तथ्यांक सार्वजनिक गर्ने तयारी छ ।

२०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको जनगणनाको प्रारम्भिक प्रतिवेदन सोही वर्षको माघ १२ गते सावर्जनिक गरिएको थियो । उक्त प्रतिवेदन अनुसार नेपालको जनसंख्या २ करोड ९२ लाख ९१ हजार ४ सय ८० थियो । अघिल्लो दशक अर्थात २०६८ भन्दा नेपालमा २६ लाख ९७ हजार ९ सय ७६ जनसंख्या बढेको थियो । १० वर्षमा १०.१८ प्रतिशतले बढेको हो भने वार्षिक वृद्धिदरचाँही ०.९३ प्रतिशत देखिएको थियो ।

कार्यलयका जनसंख्या शाखा प्रमुख ढुण्डीराज लामिछानेका अनुसार गतवर्ष प्रकाशित जनसंख्या नतिजा प्रारम्भिक भएकोले पूर्ण प्रतिवेदनमा केही फेरबदल हुने सम्भावना छ ।

जनगणना सुरु हुनु पूर्व तत्कालिन तथ्यांक विभागले जनगणना सम्पन्न भएको एक वर्षभित्र जनगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने प्रतिवद्धता जनाएको थियो । तर गत मंसिरमा संघीय र प्रदेशको चुनाव भएका कारण कार्यलयले तथ्यांक सावर्जनिक गर्न सकेन ।। समानुपातिक निर्वाचन प्रणालीका विभिन्न क्लस्टहरुमा जातीय र भौगौलिक तथ्यांकहरुका आधारमा प्रतिनिधित्व माग गर्ने नयाँ बहस र विवाद सुरु हुनसक्ने भन्दै राजनीतिको उच्च तहबाट तत्कालका लागि नतिजा प्रकाशनको प्रक्रिया रोक्न निर्देशन दिइएको कार्यलय स्रोतको भनाइ छ ।

यही बीचमा २०७९ असोजमा तथ्यांक ऐन २०१५मा संसोधन भएर केन्द्रीय तथ्यांक विभागको नाम र संरचना परिवर्तन भएर राष्ट्रिय तथ्यांक कार्यलय राखिएको छ । यस अघि राष्ट्रिय योजना आयोग मातहतमा रहेको यो कार्यलय अहिले प्रधानमन्त्री कार्यलय अन्तरगत छ । यस अघि सहसचिवको नेतृत्वमा रहेको विभाग कार्यलयमा परिवर्तन भएपछि सचिवको नेतृत्वमा रहेको छ ।

निर्वाचनको नतिजा प्रकाशनपछि कार्यलयले पुष १३ गते जनगणनाको नतिजा प्रकाशनको सबै तयारी पुरा गरेको थियो । तर पुष १० गते नयाँ सरकार गठन भएका कारण पूर्व निर्धारित प्रमुख अतिथी फेरबदल हुँदा उक्त मितिमा समेत नतिजा सार्वजनिक भएन । त्यसपछि सरकारले राष्ट्रपति र उपपराष्ट्रपतिको निर्वाचन सम्पन्न नभएसम्म जनगणनको नतिजा सावर्जनिक गर्दा राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन नियमावली २०७४ मा उल्लेख भएको मतभारमा फेरबदल हुने भएकोले हाललाई नतिजा प्रकाशन रोक्न निर्देशन गरेको थियो ।

उक्त नियमावलीमा संघीय तथा प्रदेश साँसदहरुको मतभार जनगणनाको परिणाममा आधारित हुने व्यवस्था छ । नयाँ तथ्यांक आउने वित्तिकै यसमा असर पर्ने भएकोले ति निर्वाचनपछि मात्र नतिजा सावर्जनिक गर्न निर्देशन जारी गरेको थियो ।

‘जनगणनाको नतिजा सार्वजनिक गर्न हामी तयारी अवस्थामा छौं । प्रधानमन्त्रीको समय मिलेपछि चैत १० गते नतिजा सार्वजनिक गर्ने तयारी छ’ लामिछानेले भन्नुभयो ।
एउटा संयोग नै मान्नुपर्छ २०७८ साल जेठ २५ देखि असार ९ गतेसम्म हुने भनिएको जनगणना कोरोनाका कारण पाँच महिना धकेलिएको थियो । नतिजा प्रकाशन पनि विभिन्न राजनीतिक कारणले पूर्वनिर्धारित भन्दा पाँच महिना पछि धकेलिएको छ ।

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]