बैशाख १२, २०८१ बुधबार

नाम मिलेका कारण झापाको एक परिवार माथि आक्रमण

झापा । लक्ष्मी पूजाको अघिल्लो रात करिव साढे १२ बजे, तिहारको रौनक भए पनि मेचीनगर -११ को धुलाबारी सिरान पश्चिमको गोजाबस्ती प्रायः चकमन्न थियो ।

मोटरसाइकल हुइँकिँदै आएका ७ जना उच्छृंखल युवा समूहले स्थानीय मिलन चौधरीको घर अघिल्तिर मोटरसाइकल रोके । अनि आक्रोशित मुद्रामा गालीगलौज गर्दै भने,‘ओइ मिलन, उठ ।’

मध्यराति छोरालाई कसैले बोलाएछ भनेर बुबा चन्दु उठेर आँगनमा निस्किएका मात्रै थिए, उनलाई टाउकोमा चिर्पट प्रहार गरे। आमा चिना चौधरीलाई पनि त्यसैगरी शरीरमा चिर्पट प्रहार गरे। उनी बेहोस भइन्। पछि थप ३ जना युवा बाँसबारी सिमसार क्षेत्रतिरबाट आए। ‘छोरीलाई पनि अभद्र ढंगबाट आक्रमण गरे,’ चन्दुले भने, ‘किन हामीमाथि आक्रमण गरियो, अझै बेखवर छौं।’

नाम मिल्दा आक्रमणकारी समूहले चौधरी परिवारैमाथि अन्धाधुन्ध कुटपिट गरेका थिए। खासमा त्यो समूह चन्दुका छिमेकी मिलन दर्जीको खोजीमा थियो। नाम मिलेपछि मिलन चौधरीको परिवारले अनाहकमा आक्रमण सहनु र्पयो। चन्दु चौधरीको परिवार सामान्य मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन्। छोरा मिलन चाहिँ धुलाबारी बजारको एउटा सपिङ मार्टमा काम गर्छन्।

मिलज दर्जी र मिलन चौधरीको घर टिमाइ खोला वारिपारि छ। चौधरी परिवारमाथि आक्रमण सुरु भएपछि स्थानीयवासीले प्रतिकार गर्नुका साथै प्रहरीलाई खबर गरेका थिए। एक स्थानीयवासीका अनुसार तीन जना मोटरसाइकलमा चढेर फरार भए। ४ जनालाई समातेर प्रहरीलाई बुझाइयो। प्रहरीले घटनाको भोलिपल्ट थप ३ जना पक्राउ र्गयो।

स्रोतका अनुसार मिलन दर्जी लागूपदार्थका कारोबारी हुन्। उनी भारतबाट लागूपदार्थ लिएर काठमाडौ, पोखरा लगायतका सहरी क्षेत्रमा पठाउँछन्। केही समयअघि उनले काठमाडौंका एक जना कारोबारीलाई ‘सामान’ (लागूपदार्थ) पठाउने भनेर करिव डेढ लाख रुपैयाँ रकम असुलेका थिए। तर, रकम लिएपछि दर्जी सम्पर्क्विहीन बनेका थिए। स्रोतका अनुसार दर्जीलाई रकम असुल्न काठमाडौंका कारोवारीले ती व्यक्तिहरुको प्रयोग गरेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठका अनुसार पक्राउ मेचीनगर-९ का कृष्णबहादुर मगर, सुरज राजवंशी, साजन राजवंशी, सन्तोष श्रेष्ठ, विनोद डाँगी, पुकार कटुवाल र रुपेश दाहाल छन्।
मनोज सिलवाल, अनुज निरौला र अनुप संग्रौला फरार छन्।

तीन जनालाई प्रहरीले खोजी तीव्र पारेको जनाएको छ। पीडित मिलन चौधरीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। श्रेष्ठका अनुसार सातै जनालाई अभद्र व्यवहार अर्न्तगत मुद्दा दर्ता गरिएको छ। अभियोग प्रमाणित भए १ वर्षसम्म जेल र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

नेपाली सेनाको जागिरबाट भर्खरै अवकास पाएका श्रेष्ठको नेतृत्वमा आक्रमणकारीहरु आएका थिए। श्रेष्ठले हालसालै घर नजिकै होटल समेत सञ्चालन गरेका छन्। सबैलाई त्यही होटलमा खानपिन गराएर दर्जीलाई आक्रमण गर्न आएका थिए। तर, मिलन चौधरीको परिवार घानमा पर्यो। आक्रमण गरी सकेपछि उनीहरुले ‘ए यो मान्छे त हैन’ भनेको सुनेको चौधरीका एक छिमेकीले बताए।

घटना सामसुम पार्न स्थानीय राजनीतिक दलका अगुवाहरुको सक्रियता बढेको थियो। तर, पीडित परिवारले अनाहकमा परिवारमाथि नै आक्रमण भएको घटनामा मिल्न इन्कार गरेका थिए।

इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर कैलाश चौधरीका अनुसार पीडित परिवारसँग मिल्ने सहमति भएको भन्दै अभियुक्तलाई छाड्न दबाब दिँदै आक्रमणकारीका परिवार दिनै प्रहरी कार्यालय धाउने गरेको सुनाए। इन्स्पेक्टर चौधरीले भने, ‘मिल्ने सहमति भइसकेपछि किन मुद्दा चलाउनु भएको भन्दै परिवारले हैरान पारिरहेका छन्।’

प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]