जेष्ठ ५, २०८१ शनिबार

साथीको लहैलहैले ओरियन्समा फसेका युवाको बयान

बिर्तामोड । झापा मेचीनगर–१३ का नियन राजवंशी स्नातक तह अध्ययन गर्छन् । विपन्न आर्थिक अवस्था भएका राजवंशी अध्ययनसँगै निर्माण मजदुरका रुपमा काम गर्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले बिचमै पढाइ छाडे । र, पूर्णकालिन निर्माण मजदुरका रुपका कार्यरत छन् ।

यसैबीचमा उनको भेट क्याम्पसको साथी मेचीनगरकै आरती सुवदीसँग भयो । सुटमा देखिने सुवेदीले केहि लगानी गरे सातामै १५ हजारसम्म आम्दानी गर्न सकिने प्रलोभन देखाइन् । सुवेदीको व्यक्तित्व पनि पत्याउन लायक थियो । राजवंशीले सुवेदीको कुरामा एक शब्दमै विश्वास गरे । उनी सुवेदीसँगै बिर्तामोडमा रहेको ग्लोवल ओरियन्सको कार्यालयमा आए ।

बिर्तामोडमा अफिस छ भन्दै बोलाइएका राजवंशीलाई सुवेदीले चिया पसलमा राखेर डिल गरिन् । उनलाई अफिस लगिएन । सर भन्दै एक जना सानै उमेरको युवासँग पहिलो पटक भेट गराइयो । सुवेदी र ति युवा मिलेर केहिबेरको डिलपछि राजवंशीलाई २ हजारको टिकट कटाए । उनले आफ्नो करियरमा टेवा पुग्ने अपेक्षा सहित २ हजार तिरे । त्यसपछि तालिमभन्दै उनलाई १५ दिन ‘लाइफ चेन्जिङ सेमिनार’ का नाममा बिर्तामोडमा राखियो । १५ दिन बसे वापत राजवंशीले थप ३ हजार बुझाउनु परेको थियो ।

जब सेमिनार सकियो, त्यसपछि उनीसँग ‘सेकेण्ड स्टार लेभल’ को प्याकेजमा आवद्ध हुन प्रलोभन देखाइयो । सेकेण्ड स्टार लेभलका लागि राजवंशीले ३६ हजार ५ सय ओरियन्सलाई बुझाए । त्यस वापत उनले २१ हजार ६ सय ९० रुपैयाको सामान पाए । १४ हजार ८ सय १० रुपैयाँ फगत बुझाएका छन् ।

स्त्री रोग, जण्डिस, मुटु रोग, कुलत छुटाउने, किड्नी, हार्डजोर्नीको समस्याको उपचार हुने भन्दै दिएको सामानमा उनले विश्वास गरेर बुझे । उनले केहि सामान विक्री समेत गरे । विक्री गरेको सामानको सबै रकम कम्पनीलाई दिए । सो रकम बुझाएपछि आफुले पनि केहि रकम कमिशन पाइन्छ भन्ने आशा थियो । जब उनले विक्री वापतको कमिशन माग्न अफिस गए, त्यो बेला उनलाई थप साथीहरु अनिवार्य रुपमा जोडे मात्रै कमाई हुने बताइयो । त्यो घटनाले राजवंशी आश्चर्यमा परे ।

एक वर्षअघि राजवंशी ओरियन्समा जोडिएका थिए । त्यो घटनापछि उनी निर्माण मजदुरकै काममा फर्किएका छन् । किनभने, उनलाई त्यहाँ ज्याला सुनिश्चित थियो । त्यसको केहि समयपछि राजवंशी एक जना साथी लिएर बिर्तामोडमा रहेको ओरियन्समा आए । अफिस पुगेर त्यहाँ उनले आफ्नो तिरेको रकम फिर्ता मागे । आफुले लगेको सामान पनि आधा मुल्यमै फिर्ता दिन्छु पनि भने । तर, उनलाई अफिसमा रहेका कर्मचारी र उनको सुवेदी साथीले वास्ता गरेनन् । निर्माण मजदुरी गरिरहेका राजवंशीलाई सुवेदीले बेल्चा चलाउन छोडिदेऊ, स्मार्ट व्यापार गर्नुपर्छ भन्दै फकाएकी थिइन् । आफ्नै साथीले राम्रै काम भनेको होला भन्ने विश्वासले राजवंशीले मजदुरी गरेर कमाएको रकम ओरियन्समा लगानी गरेर डुबाए ।

राजवंशीको लगानी डुबेपछि उनी पटक–पटक बिर्तामोड धाएर केहि पैसा उठाउने प्रयास गरे । एक जना साथी लिएर उनीहरुलाई राखेको कोठामा आएका राजवंशी चिनेको अर्को साथी भेटे । त्यो दिन उनले आफ्नो घरायसी समस्यामा परेको भन्दै लगानी फिर्ताको कुरा गर्दा ओरियन्सका विमल वन र रोहन लिम्बु लगायतले राजवंशीलाई कोठामै थुने । पछि लगानी माया मारेपछि उनी त्यहाँबाट निस्किएका थिए ।

राजवंशी मात्रै होइन, इजलासले ‘को हुन् बिर्तामोडमा देखिने निलो कोटधारी युवायुवती ?’ भनेर समाचार प्रकाशन गरेपछि ओरियन्सबाट ठगिएका थुप्रै युवायुवतीहरु सम्पर्कमा आएका छन् । कतिपय टाढाबाट आएकाहरु रकम अभावका कारण घर फर्किन समेत नसकिरहेको सूचना प्राप्त भएको छ । ओरियन्समा आवद्ध भएका धेरै युवायुवतीहरुले आफ्नो लगानी उठाएर घर फर्किने योजना बुनेका छन् । ऋणपान गरेर गरेको लगानी उठाउन असाध्यै गाह्रो भएपछि बाध्यताले ओरियन्ससँग जोडिनु परेको उनीहरुको गुनासो छ ।

इजलासका प्रतिनिधिसँगको भेटमा राजवंशीले ओरियन्समा लागेर धेरै युवायुवतीहरु ठगिएको सुनाए । उनले भने, सामान बेचेर पैसा कमाइ हुन्छ भन्नु भ्रम हो । पिरामिड शैली ( नेटवर्किङ ) मा साथीहरु जोड्दै जाँदा मात्रै कमाई हुने रहेछ । ओरियन्सले आफ्नो सामान व्यापार गर्ने र युवायुवतीहरुलाई सामान विक्रीका लागि प्रयोग मात्रै गर्ने राजवंशीको भनाई छ । उनले नेटवर्किङ शैलीमा साथीहरु समेत ठगिने भएकाले आफुले त्यो काम छोडेको स्पष्ट बनाएका छन् ।

यो पनि पढ्नुहोस् : को हुन् बिर्तामोडमा देखिने निलो सुटधारी युवायुवती ? 

प्रकाशित मिति : चैत्र २४, २०७९ शुक्रबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]