बैशाख २४, २०८१ सोमबार

बुधबारे हटिया खाली गर्न मेयरको आग्रह

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका व्यापारीहरुसँग छलफल गरेको छ । ठाउँ खाली गर्न दिएको समय सकिएपछि नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यापारीसँग बोलाएर छलफल गरेकी हुन् ।

बिर्तामोड–५ स्थित बुधबारे हटियालाई थप व्यवस्थित र सुविधायुक्त बनाउन नगरपालिकाले बहुतले व्यापारिक भवन निर्माण गर्दैछ । नगर विकास कोषको सहयोगमा नगरपालिकाले बहुतले व्यापारिक भवन बनाउने भएपछि ठाउँ खाली गर्न भनिएको हो । नगरपालिकाले ३५ र १५ दिने सूचना जारी गरेर व्यवसायीहरुलाई ठाउँ खाली गर्न सूचित गराइसकेको छ । समय सकिदा पनि व्यापारीहरुले ठाउँ खाली नगरेपछि नगरपालिकामा शुक्रवार छलफलको आयोजना गरिएको थियो ।

छलफलमा नगर प्रमुख प्रसाईले बहुतले भवन निर्माणको प्रक्रिया सुरु भएको बताइन् । व्यापारी कै निमित्त निर्माण गर्न लागिएको भवन भएकाले सहयोग गर्न उनको आग्रह थियो । नगरको तर्फबाट सूचना जारी गरिसकेको भन्दै उनले ठाउँ खाली गरिदिन आग्रह गरेकी हुन् । ठाउँ खाली नगरी काम अघि नबढ्ने भन्दै उनले आफ्ना सामानहरु सुरक्षित गरी व्यवस्थापन गर्न सूझाव दिइन् । व्यापारिक भवन निर्माणपछि व्यापारीहरुलाई उपलब्ध गराउने भन्दै तत्कालका लागि आफ्नो व्यवस्थापन गर्न आग्रह गरेकी छन् ।

बुधबारे हटियाका व्यापारीहरुको प्रतिनिधित्व गर्दै कृष्ण अधिकारीले नगरको योजनामा आफुहरु सहयोग गर्न तयार रहेको बताए । बुधबारे हटिया खाली गर्नका लागि अन्यत्र ठाउँ खोजी भइरहेको उनको भनाई थियो । उनले वैकल्पिक व्यवस्थापनमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । अधिकारीले भवन निर्माणपछि पुनःप्राप्तीको ग्यारेन्टी र निर्माण समितिमा व्यापारीको प्रतिनिधित्वको सवाल उठाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले छलफलबाट सहजै समाधान खोज्ने नगरको चहाना रहेको बताए । उनले स्थानीय व्यापारीको हितमा नगरपालिका रहेको भन्दै चाँडोभन्दा चाँडो बजार निर्माणको योजना कार्यान्वयनमा लैजाने जानकारी दिए । उनले नगरको गौरवको आयोजना भएकोले त्यसलाई सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]