परिवार नै ‘भुसिया’ कुकुरको संरक्षणमा
बिर्तामोड । हरेक दिन बिहान र साँझपख एउटा परिवार बिर्तामोड क्षेत्रमा छाडा (सामुदायिक ) कुकुरलाई खानपिन गराइरहेको अवस्थामा भेटिन्छन् । मुख्य र भित्रि सडकहरुमा बस्ने छाडा कुकुरलाई खानपिन सहित उपचार गर्दै आइरहेको शुकराज तुम्रोक लिम्बु परिवारको दैनिकी जस्तै बनेको छ । उनको परिवार नै कुकुर सेवक हुन् ।

बिहीवार साँझ भद्रपुर रोडमा भेटिएका उनीहरु कोही विस्कुट खुवाउदै थिए भने कोहि भ्याक्सिन लगाउँदै थिए । बिर्तामोड–६ बुट्टावारीका शुकराजलाई सकुन तुम्रोक र बिर्तामोडकै रञ्जिता शेर्माले सहयोग गर्दै आएका छन् । मानव जातिले कुकुरलाई हेर्ने नजर टाडा छ , शुकराजले भने – कुकुरलाई कसैले माया दया गरेको पाइदैन । सडकमा कुकुरको अवस्था दयनीय देखेर तुम्रोक परिवार विगत दुई वर्ष देखी कुकुरको स्याहारमा जुटेका छन् ।
सडकमा रहेको कुकुरलाई भुसिया भन्ने गरिन्छ, उनले थपे – भुसिया भन्न पाइदैन, यिनिहरु सामुदायिक कुकुर हुन् । विस्कुट सहित विभिन्न खाद्यन्न खुँवाउदै आवश्यक भ्याक्सिन समेत लगाइदिने गरेको सुनाए । उनका अनुसार सामुदायिक कुकुरलाई लुतो, जुका र एलर्जीको भ्याक्सिन लगाउने गरिएको छ । नीजि खर्चमा कुकुरको संरक्षणमा जुटेको परिवारले यो पृथ्वी मानव जातिको जत्तिकै अधिकार कुकुरको पनि रहेको बताउँदै आएका छन् । मान्छेको जस्तै बाँच्न पाउने अधिकार कुकुरको पनि छ , यो संसार कुकुरको पनि हो – सकुनले भनिन् । उनले कुकुरको सेवामा लाग्न सबैलाई आग्रह समेत गर्दै आएकी छन् ।

पेशाले पशु चिकित्सक शुकराजको परिवारले कुकुर तिहारमा करिव ६ सय कुकुरलाई खाना खुवाएको जानकारी दिए । चारआलीदेखी चारपानेसम्म र बिर्ताबजार देखी शनिश्चरेसम्म कुकुरलाई खानपिन गराएको बताए । बजार निस्किँदा आवश्यक औषधी र उपचार सामग्री लिएर हिढ्ने उनीहरु कुकुरको हुल देख्न साथ उपचार र खानपिनमा लाग्ने गर्छन् । त्यसमध्ये रञ्जिता शेर्माले सडकमा भेटिएका ६ वटा कुकुरलाई घरमै राखेर उपचार गरिरहेकी छन् । सामुदायिक कुकुरलाई एकीकृत गरी सेल्टर बनाएर संरक्षण गर्ने लक्ष्य रहेको शुकराजले जानकारी दिए ।