बैशाख २४, २०८१ सोमबार

ओरियन्समा लागेर यातना र डिप्रेशनको शिकार भयौं : पीडित

बिर्तामोड । इलाम सोयाकका सुवास लिम्बु ६ महिना ग्लोवल ओरियन्समा आवद्ध भई पीडित भएका युवा हुन् । उनी अहिले ओरियन्स छोडेर काठमाडौंमा काम गरिरहेका छन् ।

गाउँले दिदिको विश्वासमा लागेका लिम्बुले ओरियन्समा ४० हजार बुझाएर आवद्ध भए । रजिष्ट्रर हुन बाहेक पनि उनले सुट सिलाउनेदेखि होस्टल फिमा हजारौं तिर्नुपरेको थियो । इजलासले ओरियन्स पीडितहरुको समस्या बाहिर ल्याइरहेको बेला लिम्बु पनि सम्पर्कमा आएर त्यसभित्रको तमाम वेथिती बारे वेलिविस्तार लगाएका छन् ।
बिर्तामोडको एक पसलमा कार्यरत लिम्बु गाउँले दिदिले देखाएको सपना पुरा हुने विश्वासले ग्लोवलमा आए । हप्ताको १२÷१५ हजार रुपैयाँ कमाई हुने लोभमा परेका लिम्बु पहिलो पटक २५ सय तिरेर टे«निङमा सहभागी भए । गाउँकै मनिता एक्तेनले उनलाई ग्लोवलमा जोडेकी थिइन् ।

काम गर्दै गरेको पसलमा भन्दा राम्रो काम र पैसा हुने ठाउँ खाजिरहेका लिम्बुलाई एक्तेनले ग्लोवलमा धेरै कमाई हुने आश्वासनसहित जोडिन् । गाउँकै दिदिको कुरालाई विश्वास मानेर प्रवेश गरेका लिम्बुले ४० हजार ऋण खोजेर प्रमोटर–२ मा आवद्ध भए । उनलाई त्यो रकमभन्दा पनि कम पैसामा आवद्ध हुन पाइने कुरा थाहा नदिए पछि ४० हजारमा जोडिएका थिए । पछि उनले थाहा पाउँदा १४ हजारमा पनि जोडिन पाइने रहेछ । ४० हजार र १ लाख ३० हजारको प्रमोटर बन्न पाइने ओरियन्सको नियम रहेको उनले सुनाए ।

होस्टल बसेरै काम गर्नुपर्ने वातावरण भएपछि उनले ३ हजार तिरेर होस्टल बसे । लिम्बुका अनुसार होस्टल जेल जस्तै थियो । बाहिर हिड्न अनुमति लिनुपर्ने, आफन्तसँग कुरा गर्न अनुमति लिनुपर्ने । आफ्नो फेसबुकको पासवर्ड पनि कम्पनीको मान्छेलाई दिनुपर्ने आदि ।

प्रत्येक व्यक्तिसँग ३ हजार लिएर होस्टलमा राखे पनि खानपान राम्रो नभएको उनको भनाई छ । तिन औंला बराबरको तरकारी, पानी मात्रै भएको दालसँग खाना खानुपर्ने बाध्यता थियो । सुत्न पनि एउटै कोठमा १०÷१२ जना मिलेर सुत्नुपर्ने थियो । लिम्बु भगवान चोकमा कार्यालय भएको ओरियन्समा आवद्ध थिए । जसको सञ्चालकका रुपमा उनले इलामका नाम्बिन लिम्बु ‘सरोज’ र पाँचथरकी मनिता नेपालीलाई चिनेका छन् । नेपालीले केहि युवाहरुलाई कुटपिट समेत गरेको खुलासा भएको छ ।

आवद्ध भएको तीन महिना वितिसक्दा पनि पैसा कमाई नभएपछि उनले सञ्चालकहरुलाई आफ्नो घरयासी समस्या सुनाए । सञ्चालकहरुले सुरु मै पैसा कमाउन नसकिने भन्दै सहजीकरण गर्थे । ग्लोवल ओरियन्सभित्र ‘यूज इट, फिल इट, सेयर इट’ सुत्रमा उनीहरुलाई आवद्ध गराइएको पछि मात्रै थाहा भयो । सामान आफुले बेचेर मात्र नहुने अर्को मान्छे जोड्नै पर्ने बाध्यकारी नियम सुनेपछि लिम्बु छाँगाबाट खसे । सुरुमा यो कुरा थाहा नै भएन, मान्छे नजोडी पैसा हुदैन भन्ने थाहा पाएको भए म आउने नै थिइन्, लिम्बुले इजलाससित भने । मैले पनि एक जना साथीलाई यसैगरी ढाँटे । कोरियन भाषा पढ्दै गरेको नजिकको साथीलाई विभिन्न झुटो कुरामा आश्वासन देखाएर जोडे । ६ महिनामा एक जनालाई जोडेको उनको अनुभव छ ।

६ महिना काम गर्दा उनले जम्मा ३५ सय रुपैयाँ कमाएको सुनाएका छन् । आफ्नो लगानी बालुवामा गएको थाहा पाएपछि उनले त्यहाँबाट मुक्ती पाउने प्रयासहरु थालेका थिए । घरमा हजुरआमा विरामी भएर दमक उपचारका लागि ल्याएको थियो । त्यो बेला उनलाई परिवारले काम गरेको पैसा सहयोग गर्न भनिएको थियो । तर, कमाई नभएपछि उनले ५ सय रुपैयाँ सापटी मागेर दमक गएको सुनाए । त्यसको केहि समयपछि हजुरआमाको निधन भयो । थप ऋण बढेपछि उनी काम खोज्दै काठमाडौंतिर लागे ।

होस्टलमा बस्दा आफु डिप्रेशनमा पुगेर आत्महत्या गर्ने सोचमा पुगेको सुनाए । धेरै रात होस्टेलको शौचालयभित्र रोयर विताएको छु, टाउको भित्तामा हानेर फुटाउन खोजे , लिम्बूले भने – आत्महत्या नै गरौं जस्तो भएको थियो । तर, हजुरआमा विरामी भएको मौकामा त्यहाँबाट विदा हुन सफल भए ।

ग्लोवल ओरियन्समा आवद्ध भएपछि विभिन्न यातना भोग्नुपरेको उनको गुनासो छ । होस्टलमा बस्नै नपाइने, जतिवेलै टे«निङ, राती ११, १२ बजेसम्म कुरा सुनिदिनुपर्ने, घर परिवारबाट टाढा हुनुपर्ने बाध्यता थियो । सामान खरिदसम्मलाई बेठिक भन्न सकिदैन, त्यो प्रयोग नगरे फालिदिदा पनि हुन्छ । उनले भने – तर, इन्भिटेशन ( साथी जोड्नैपर्ने दवाव) ले धेरै समस्या बनायो । आफ्नो कमाई छैन, बस्न खान राम्रो व्यवस्था छैन । सबै झुटो कुरामा आश्वासन दिनुपर्ने कुरा मलाई ठिक लागेन ।

ओरियन्समा आवद्ध भइसकेपछि ठुला होटलहरुमा कार्यक्रम गर्ने, सुटबुटमा हिड्न पाइने लोभका कारण धेरै युवायुवतीहरु जोडिएको उनको बुझाई छ । आफ्नो मुनी साथी जोड्नैपर्ने (नेटवर्किङ ) काम ठगी नै हो, लिम्बुले भने – झुटो र गलत आश्वासन दिएर जोड्नु पाप जस्तै लागेर मैले त्यो काम गरिन ।

उनका अनुसार बिर्तामोडमा दुई ठाउँमा ग्लोवल ओरियन्सको कार्यालय छ । एउटा निलो सुटवाला भगवान चोकतिर र कालो सुटवाला विजुली अफिस भद्रपुर रोडतिर छ । दुवै कार्यालयको काम उस्तै–उस्तै छ ।
मोटिभेशन कक्षाको नाममा धेरै पैसा खर्च हुने गरेको लिम्बु बताउँछन् । हामी पैसा कमाउने सपना बोकेर त्यहाँ जान्छौ, तर त्यहाँ पैसा विना केहि काम नहुने रहेछ । अर्को एक प्रसंगमा लिम्बुले भने, विदेश टुरको कुरा पनि सुनाइन्छ । फोटो पनि टासिन्छ । उनीहरु विदेश गइरहेका छन् कि छैनन् परीक्षण गर्नुहोला ।
लिम्बुले सुरुमा ओरियन्समा आवद्ध हुन दिइने आश्वासन र प्रलोभनामा नपर्न आम युवाहरुलाई आग्रह समेत गरेका छन् ।
यस्तै, तह्रथुमकी रोस्मा शेर्पाले आफु पनि ग्लोवल ओरियन्सबाट ठगिएको बताएकी छन् । उनले विभिन्न प्रलोभन र आश्वासनमा परेर ३७ हजार, बहिनीको ४० हजार रुपैयाँ ओरियन्समा डुवेको बताइन् । तिरेको पैसाभन्दा कम सामान पाएर र प्रयोग पनि गर्न नसकेको उनको भनाई छ । उनले आफुहरुलाई पढ्न पाइने, काम पनि पाइने भन्दै आवद्ध गराइएको जानकारी दिइन् । उनले ओरियन्समा लाग्दा मोटरसाइकल, कार समेत पाइने आश्वासन पाएको बताइन् ।

र परिवारको आर्थिक समस्याले काममा जोडिएको बताउने शर्पाले एक जना बृद्धलाई पनि जोडेकी थिइन् । अहिले बृद्धले पैसा फिर्ता मागिरहेको सुनाइन् । १ लाख २० हजार अफिसलाई बुझाएर आवद्ध गराएको भन्दै उनले दिदीबहिनीको पैसा र बृद्ध बा को पैसाका कारण धेरै तनाव भइरहेको जानकारी दिएकी छन् । उनले आखलढुगाका साङ्गे तेम्बा शेर्पालाई १ लाख २० हजारमा जोडेकी थिइन् । अहिले काठमाडौंमा कार्यरत उनले ग्लोवल ओरियन्सबाट आफ्नो र आफु मार्फत भएको लगानी फिर्ता गरिदिन माग गरेकी छन् ।

प्रकाशित मिति : चैत्र २६, २०७९ आईतबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]