बैशाख २४, २०८१ सोमबार

ओरियन्स छोडेका युवा भन्छन् – लगानी ६ लाख ४० हजार, आम्दानी ११ हजार

बिर्तामोड । ग्लोवल ओरियन्समा आवद्ध हुँदा पेन्सन समेत पाइने आश्वासन पाएका युवाहरुले सबै आश्वासन गलत भएको प्रतिक्रिया दिएका छन् । ग्लोवल ओरियन्सको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको कार्यालयमा आवद्ध भई ७ महिना काम गरेका झापा बाह्रदशीका ए भन्ने युवा (नाम परिवर्तन) ले सबै झुटो आश्वासनबाट युवाहरु फसिरहेको जानकारी दिए ।

ए ले ओरियन्समा आवद्ध हुनलाई सुरुमा ४० हजार बुझाएका थिए । तालिम र होस्टल बस्न धेरै हजार पैसा तिरेका उनले सात महिनाको अवधिमा ११ हजार पाएको सुनाए । उनले सात महिनामा ७ जना साथीलाई सदस्य बनाएका थिए । सात जना साथीहरुले ओरियन्सको कार्यालयमा ६ लाख ४० हजार बुझाएको ए ले जानकारी दिए । ६ लाख ४० हजार तिरेर साथीहरु जोढ्दा उनले ११ बजार कमाए पनि त्यहाँ बस्दाको आधा खर्च पनि नपुगेपछि उनीहरु त्यहाँबाट निस्किएका थिए ।

उनले ओरियन्सभित्र मनिता नेपालीले हदैसम्मको मानसिक तनाव दिने, पैसा तिर्नलाई र साथीहरु जोड्न ठुलो दवाव दिने गरेको पीडितको भनाई छ । मेचीनगरका एक युवालाई नेपालीले कुटपिट समेत गरेको पीडितले जानकारी दिए । नेपाली लगायत ओरियन्सका कर्मचारीले दर्ता हुन लिएको पैसाको कुनै पनि रसिद नदिएको पीडितहरुको गुनासो छ । उनीहरुले तत्काल प्रशासनले ओरियन्सका नाममा भइरहेको वेथिती रोक्नुपर्ने माग राखेका छन् । पीडितहरुका अनुसार तत्कालै प्रशासनले ध्यान नदिए कयौं युवाहरु त्यसमा फस्ने छन् ।

उक्त ओरियन्समा आवद्ध हुँदा एक जनाले ३ जनालाई अनिवार्य सदस्य बनाउन दवाव दिने गरिएको छ । तीन जनाले फेरि ३-३ थप गर्दै जानुपर्ने नियम रहेको पीडित युवाले जानकारी दिए । ४० हजारवाला सदस्य बनाउन सक्दा बनाउनेले ३०० (पिभी) पोइन्ट भ्यालु अर्थात ९६० रुपैयाँ कमाउने छन् भने १ लाख ३० हजारवाला सदस्य बनाउदा १००० (पिभी) पोइन्ट भ्यालु अर्थात २१६० रुपैयाँ कमाई हुने बुझिएको छ ।

प्रकाशित मिति : चैत्र २६, २०७९ आईतबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]