बैशाख २४, २०८१ सोमबार

मयुर सहकारीका बचतकर्ताले गुहारे प्रशासन, तीन महिनापछि रकम फिर्ता गर्ने सहमति

बिर्तामोड । झापाको बिर्तामोड–५ मा रहेको मयुर बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नदिएपछि पीडितहरुले प्रशासन गुहारेका छन् । बचतकर्ताको रकम फिर्ता नदिएर १५ दिनदेखि कार्यालय बन्द गरेपछि पीडितले प्रशासन गुहारेका हुन् ।

सहकारीका अध्यक्ष, सञ्चालक तथा प्रवन्धक दमकका दिनेश घिमिरेले बचत रकम अपचलन गरेको आरोप लगाउदै बचतकर्ताहरुले प्रशासनमा जानकारी दिएका छन् । उनीहरुले आफ्नो बचत रकम फिर्ताको माग राखेका छन् ।

प्रशासनको निर्देशन बमोजिम ईलाका प्रहरी कार्यालय अनारमनीले मंगलवार दुवै पक्षलाई छलफलका लागि डाकेको थियो । ईप्रकामा भएको छलफलमा घिमिरेले बचत फिर्ता दिने रकम नभएपछि सहकारी बन्द गरेको स्वीकार गरे । उनले सबै बचतकर्ताको रकम क्रमशः फिर्ता गर्ने समेत बताए ।

सहकारीले सञ्चालनको ११ वर्षसम्म बैंक खाता समेत सञ्चालन नगरेको पाइएको छ । संस्थाको कुनै पनि बैंकमा खाता नभएको थाहा पाएपछि बचतकर्ताहरु आश्चर्यमा परेका थिए । सञ्चालक घिमिरेले आफ्नै नामको बैंक खाताबाट सहकारीको कारोवार गर्ने गरेको एक जना बचतकर्ता लता खरेलले जानकारी दिइन् ।

घिमिरेले धितो बन्धक समेत आफ्नै नाममा राजीनामा पास गर्ने गरेको उनको भनाई छ । अनौपचारिक कुराकानीका क्रममा घिमिरे आफ्नो नाममा ३० विगाह जमिन रहेको बताउदै आएका थिए । सर्वसाधारणको धितो व्यक्तिका नाममा राजीनामा पास गराउने गरेको फेला परेपछि सम्पत्ति असुरक्षित भएको पीडित पक्षको भनाई छ । अर्का बचतकर्ता विक्रम फुँयालका अनुसार घिमिरेले आफु र आफन्तका नाममा विना धितो ऋण लगानी गरेका छन् । आफन्त भनिने पुनम थापा र सालोको नाममा लाखौं ऋण लगानी गरेको उनीहरुको भनाई छ ।

गत फागुन २३ गतेसम्मको रेकर्ड अनुसार संस्थामा ३ करोड १२ लाख व्यालेन्स सिट देखिएको छ । संस्थामा २ करोड १८ लाख बचत देखिन्छ भने २ करोड २७ लाख ऋण लगानी भएको पाइन्छ । घिमिरेले अधिकांश ऋण कृतिम ऋणी खडा गरेर आफै चलाएको बचतकर्ताको आरोप छ ।

प्राप्त सूचना अनुसार घिमिरेले आफु होटल व्यवसायमा लाग्ने भन्दै संस्थाका केहि बचतकर्तालाई सहकारी सञ्चालनका लागि आग्रह गरेका थिए । बचतकर्तामध्येका फुँयालले सहकारी संस्था सञ्चालनको अनुभव समेत भएकोले सहकारीभित्रको आर्थिक विवरण अध्ययन गर्ने क्रममा उक्त समस्याहरु फेला परेको थियो । संस्थाको नाममा खाता नभएपछि उनीहरुले राष्ट्रिय सहकारी बैंकमा घिमिरेले दिएको पत्र अनुसार खाता खोलेको समेत बताएका छन् ।

सो क्रममा फुँयालसहितको समूहले १३ लाख सञ्चालन खर्च तयार गरेर काम समेत अघि बढाएको थियो । १० लाख खातामा जम्मा गरी ३ लाख संस्थामा राखेका उनीहरुले सहकारीभित्रको समस्या देखेर जिल्ला प्रशासनमा उजुरी गरेका थिए । जिल्ला प्रशासनले जिल्ला प्रहरीलाई पत्रचार गरेपछि ईप्रकामा छलफलका लागि परिपत्र गरिएको थियो ।

त्यसैबीचमा समस्याको समाधान खोज्न फुँयालको समूहले जिल्ला सहकारी संघलाई समेत आग्रह गरेको थियो । संघले दुवै पक्षलाई छलफलका लागि बोलाएको पनि थियो, खरेलले भनिन् – उक्त छलफलमा घिमिरेले आफ्ना कुरा नराखी हिडेपछि जिल्ला प्रशासन जान संघले नै सूझाव दियो ।

अनारमनीका डिएसपी सुरज कार्कीले अध्यक्ष घिमिरेले तीन महिनामा बचतकर्ताको रकम फिर्ता गर्ने बताएको जानकारी दिए । उनका अनुसार बचतकर्ता र सञ्चालकहरु बीच सहमति भएको छ ।

यता, बचतकर्ता अर्जुन थापाले तीन महिनामा रकम फिर्ता गर्ने सहमति भएको जानकारी दिए । तीन महिनाभित्र सबैको बचत फिर्ता गर्ने अध्यक्ष घिमिरेले कागज गरेको थापाको भनाई छ ।

प्रकाशित मिति : चैत्र २९, २०७९ बुधबार  २ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]