बैशाख १७, २०८१ सोमबार

तरकारी सस्तियो, उपभोक्ताले पाएनन् राहत

काठमाडौं । पछिल्लो साता देशकै ठूलो तरकारी बजार कालीमाटीमा तरकारीको थोक मूल्य ५० प्रतिशतसम्म सस्तो भएको छ । गोलभेँडा, बन्दा, हरियो र पाकेको फर्सी, घिउसिमी, तुनेबोडी, भान्टा, भिन्डीलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो तर खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैन । अरू त के कुरा गर्नु कालीमाटी बजारभित्र रहेको खुुद्रा बजारमा समेत तरकारीको भाउ सस्तिएको छैन ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार स्थानीय काउली, मूला, साग, गाजरलगायतका तरकारीको मूल्य भने क्रमशः बढ्दै गएको छ । ती तरकारीको मौसम करिब सकिएकाले पनि क्रमशः मूल्य बढ्न थालेको समितिले जनाएको छ । समितिले सार्वजानिक गरेको तथ्याङ्कअनुसार चैतको तेस्रो सातासम्म थोकमै प्रतिकेजी ८५/९० रुपियाँमा कारोबार भएको गोलभेँडा अहिले घटेर थोकमा प्रतिकेजी ५५ रुपियाँमा झरेको छ । यस्तै घिउसिमी, तनेबोडी, हरियो फर्सी, बन्दालगायतका तरकारी पनि सस्तिएका छन् ।

कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गर्नुभएका सानेपा घर बताउने बिनु अमात्यले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुद्रामा आफूले महसुस गर्न नपाएको गुनासो गर्नुभयो । “गोलभेँडा प्रतिकेजी १०० रुपियाँमा किन्नुपर्छ तर कालीमाटीमा त ११० रुपियाँमा एक धार्नी आयो । बन्दा, फर्सी, घिउसिमी, तनेबोडी, भिन्डी, भान्टा पनि आधा सस्तो रहेछ,” उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।

कालीमाटी बजारभित्रै रहेको खुद्रा बजार र थोक बजारको तरकारी मूल्य अन्तर हेर्दा पनि आधाभन्दा बढी भएको पाएको अनुभव तरकारी किन्दै गर्नुभएकी गङ्गामाया अधिकारीले सुनाउनुभयो । कालीमाटी बजारमा पनि धेरै किन्नेलाई सस्तो हो तर थोरै किन्नेलाई कालीमाटीमै पनि महँगो छ । सरकारका अनुगमन गर्ने निकायले के गरेर बसेका छन् कुन्नि ? एउटै बजारभित्र मूल्यमा यति धेरै अन्तर हुँदा भनेर उहाँले प्रश्न गर्नुभयो ।

बजारको मूल्य नियमन गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने सीमित स्रोतसाधन भएको विभागले मात्रै सबै क्षेत्रको अनुगमन गर्न नसक्ने बताउँदै आएको छ । विभागका निर्देशक होमप्रसाद भट्टराईले आमउपभोक्ताले गरेको अपेक्षाअनुसार विभागको सीमित स्रोत र जनशक्तिले सेवा दिन नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “विभागले अनुगमन नै गर्दैन भन्ने होइन, हामीले सेवा र वस्तुको नियमित अनुगमन गर्दै आएका छौँ । त्यो पर्याप्त भने छैन, हरेक पालिकालाई अनुगमन गर्ने अधिकार छ, उहाँहरूको यसमा ध्यान किन नगएको हो ?”

“हरेक पालिकाले आआफ्नो पालिकाभित्र पर्ने बजारलाई चुस्तदुरुस्त पार्नका लागि उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति हुने व्यवस्था छ तर उहाँहरू किन अलमल्लमा पर्नुुभयो ?” निर्देशक भट्टराईले थप्नुभयो ।

कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो एक÷डेढ सातायता मौसमी तरकारीको भाउ आधा घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बजारमा तरकारीको आयात पर्याप्त नभए पनि थोक बजारमा मौसमी मात्रै होइन, बेमौसमी तरकारी पनि सस्तिएको छ ।”

समितिका प्रवक्ता विनय श्रेष्ठले पछिल्ला दिनमा तरकारी आयात कम भए पनि मौसमी तरकारी सस्तो भएको जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य अवस्थामा कालीमाटी बजारमा नौ सयदेखि एक हजार मेट्रिक टन तरकारी आउने गरेकामा अहिले घटेर दैनिक छ÷सात सय मेट्रिक टनको हारहारीमा मात्रै तरकारी आइरहेको छ । प्रवक्ता श्रेष्ठले उपत्यकाका कतिपय ठाउँमा फाटफुट रूपमा स्थानीय उत्पादन पनि हुने भएकाले बजारमा तरकारीको माग पनि कम भएको र आपूर्ति घट्दा पनि मूल्य घटेको बताउनुुभयो । समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गरेको छ । बजारमा स्वदेशी उत्पादित तरकारी धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज, गोलभेँडा, कागतीलगायतका तरकारी भारतबाट आइरहेको छ । समितिका प्रवक्ता श्रेष्ठले गोलभेँडाबाहेकका अधिकांश तरकारीको भाउ सस्तो भएको र मौसमी तरकारी अझै सस्तिने क्रममा रहेको बताउनुभयो । -गोरखापत्र

प्रकाशित मिति : चैत्र ३०, २०७९ बिहीबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]