जेष्ठ ६, २०८२ सोमबार

आज शीर्ष तीन नेताबीच छलफल हुँदै

काठमाडौं । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने सन्दर्भमा आज (सोमबार) छलफल हुँदै छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुने भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल हुने भएको हो ।

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको छलफल सोमबार बिहान ९ बजे हुने शर्माले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउन समझदारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ ।

यसअघि चैत २५ र २८ गते पनि उहाँहरूबीच छलफल भएको थियो। सभामुख देवराज घिमिरेको समन्वयमा तीन दलका शीर्ष नेताबीच भएको छलफल विशेषतः

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने विषयमा केन्द्रित थियो । संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको छ ।

प्रकाशित मिति : बैशाख ४, २०८० सोमबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]