जलेश्वर सामुदायिक सिकाई केन्द्रद्वारा निरौलालाई सम्मान
शनिश्चरे । अर्जुनधारा नगरपालिका -८ स्थित जलेश्वर सामुदायिक सिकाई केन्द्रले शारीरिक रुपमा अपाङ्गता भएका मायादेवी निरौलालाई सम्मान गरेको छ ।
केन्द्रद्वारा सोमबार आयोजित नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान साथै मातातिर्थ औंसीको अवसर पारेर सम्मान कार्यक्रममा निरौलालाई सम्मान गरिएको हो ।
स्थानीय नारी चेतना समूहका अध्यक्ष पम्फा विश्वकर्माको प्रमुख आतिथ्यतामा निरौलालाई नगद, सम्मानपत्रसहित सम्मान प्रदान गरिएको थियोे । केन्द्रकी अध्यक्ष पुनम सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले यसअघि केन्द्रले उनीहरूलाई विभिन्न किसिमको तालिम दिइसकेको बताइन् ।
अध्यक्ष सुवेदीको सभापतित्व र सचिव इन्दिरा दाहालको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि विश्वकर्मा , सिंहदेवी कृषक समूह अध्यक्ष सूर्यबहादुर श्रेष्ठ, केन्द्र उपाध्यक्ष देवकला प्रसाई, सल्लाहकार सदस्य मेदनी गुरागाई, भाज्य लक्ष्मी समूहका कोषाध्यक्ष रत्ना राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।