जेष्ठ ५, २०८१ शनिबार

कनकाईमा ‘दवाव’ कारण व्यापारीले आत्महत्या गरेको दावी

प्रदीप परियार

बिर्तामोड । झापाको कनकाई– ३ मा एक जना यातायात व्यवसायीले व्यवहारिक दवावका कारण आत्महत्या गरेको भन्दै कनकाई उधोग वाणिज्य संघले छानविन गरी कारबाही हुनुपर्ने माग गरेको छ ।

कनकाई–३ सुरुङामा यातायात व्यवसाय गर्दै आएका भरत पौडेल मंगलवार आफ्नै घर अगाडि सटरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई मंगलवार विहान घर अगाडिको सटरभित्र झुण्डिएको अवस्थामा फेला पारिएको परिवारले जनाएको छ । स्थानीयवासी, परिवारले समेत आर्थिक कारोवारको दवावका कारण पौडेलले आत्महत्याको बाटो रोजेको बताएका छन् । दवाव दिनेको पहिचान गरेर छानविन हुनुपर्ने अधिकांशले आवाज उठाएका छन् ।

कनकाई उधोग वाणिज्य संघका अध्यक्ष तुलसी विमलीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गर्दै धरानका रमेश श्रेष्ठले पौडेलका २ वटा बस तानेको उल्लेख गरेका छन् । श्रेष्ठले बस तानेको विषयलाई व्यवसायीका संघ संगठनहरुले छानविन गर्नुपर्ने उनको भनाई छ ।

स्थानीयका अनुसार धरान–८ का रमेश श्रेष्ठले पौडेलका २ वटा बस गत चैत २० गते इटहरीबाट तानेका थिए । सोही घटनाले गर्दा पौडेलले आत्महत्याको बाटो रोजेको दावी गरिएको छ ।

यता, श्रेष्ठले मृतक पौडेलका छोरा रोशन पौडेलसँग बस किनबेचको कारोवार भएको जानकारी दिएका छन् । पौडेलका छोरा केहि समयअघि लण्डन गइसकेका छन् । श्रेष्ठको नाममा रहेको २ वटा बस पौडेलले अढाई वर्षअघि खरिद गरेको बताइएको छ । ७० लाख मुल्याङकन गरेर श्रेष्ठले बैंकको कर्जामा रहेको दुई वटा बस पौडेल परिवारलाई विक्री गरेका थिए ।
पछिल्लो पटक चैतको अन्तिम साता कारोवार मिलाउने भन्दै दुवै पक्षबीच सौहर्द कुराकानी भएको श्रेष्ठले इजलाससित बताएका छन् । आर्थिक कारोवार नभएपछि चैतको २० गते बस फिर्ता लगेको स्वीकार गर्दै श्रेष्ठले भने, हामीबीच कारोवार मिलाउनुपर्ने बाहेक अन्य विषयमा कुरा भएको छैन । उहाँहरु (पौडेल पक्ष) ले तत्कालै कारोवार मिलाउनका लागि वातावरण तयारी गरिहरेको श्रेष्ठलाई जानकारी समेत गराएको उनको भनाई छ ।

पौडेलले २ वटा बसमध्ये एउटा बस स्थानीय सन्तोष राईलाई विक्रि गरेका थिए । श्रेष्ठको नाममा बैंकमा रहेको बस राईलाई विक्रि गर्दा पनि जानकारी नदिएको श्रेष्ठको गुनासो छ । उनले बैंकमा आफ्नो धितो राखेर बस नामसारी गर्न पटक-पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बस फिर्ता लगेको जनाएका छन् । पौडेलका छोरा रोशनलाई श्रेष्ठले कारोबार सकेर मात्रै विदेश जान भनेको बुझिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले घटना स्थलको मुचुल्का गरिसकेको छ । परिवारले उजुरी नगरेसम्म प्रहरीले घटनाबारे केहि बोल्न नमिल्ने जनाएको छन् ।

प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]