जेष्ठ ३, २०८१ बिहीबार

कर्णाली साकोसले बाढ्यो सदस्यलाई डेढ करोड लाभांश

बिर्तामोड । झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले ४२ जना सदस्यलाई सम्मान गरेको छ । १५ हजारमाथि लाभांश पाउने सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।

संस्थाले आर्थिक वर्ष २०७८-०७९ मा एक करोड ५५ लाख रुपैयाँ कारोबारी सदस्यहरुलाई लाभांश प्रदान गरेको छ । सहकारी संस्थामा वित्तीय कारोबार गरेको आधारमा शेयर सदस्यहरुले पाउने संरक्षित पूँजी फिर्ता अन्तर्गत लाभांश वितरण गरेको हो ।

बचतमा ब्याजको ४० प्रतिशत र ऋणमा तिरेको ब्याजको ६० प्रतिशत रकम सम्बन्धित सदस्यले संरक्षित पूँजी फिर्ता वापत पाउने व्यवस्था छ । कर्णाली साकोसले सोही ऐन र नियमावलीको आधारमा यो वर्ष एक करोड ५५ लाख रुपैयाँ संरक्षित पुँजीकोष रकम वितरण गरेको हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले एक करोड ४० लाख रुपैयाँ सदस्यलाई फिर्ता गरेको थियो ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले ५४ हजार सेयर सदस्य रहेको कर्णाली साकोसका १९ हजार ८७८ जना सदस्यले यस्तो रकम प्राप्त गरेको जानकारी दिए । अघिल्लो पटक १७ हजार ८५३ जनालाई यस्तो सुविधा प्रदान गरिएको थियो ।
संस्थाका कोषाध्यक्षसमेत रहेका एकराज विष्टले संरक्षित पूँजी फिर्ता वापत एक लाख २४ हजार २८३ रुपैयाँ पाएका छन् । अघिल्लो आर्थिक वर्षको कारोबारमा पनि उनले नै सबैभन्दा धेरै ९३ हजार ३३९ रुपैयाँ प्राप्त गरेको तथ्याङ्क छ ।

सेयर सदस्यले गरेको वित्तीय कारोबारका आधारमा प्रदान गरिएको संरक्षित पूँजी फिर्ताले असल सदस्य बन्न सबै उत्प्रेरित हुनेछन् भन्ने उनको विश्वास थियो । गतवर्षको तुलनामा यो वर्ष ऋणिभन्दा धेरै बचतकर्ताले यस्तो सुविधा उपभोग गर्न पाएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

संरक्षित पूँजी फिर्ता पाउने उत्कृष्ट सदस्यहरु चित्रकला पौडेल र दुर्गाप्रसाद नेपालले यसरी सहकारीबाट नसोचेको रकम पाउँदा खुशी लागेको बताएका छन् ।

संस्थाका सचिव भूपाल गौतमले कर्णाली साकोसले दोस्रोपटक यसरी वृहतरुपमा कार्यक्रम गरी संरक्षित पूँजी फिर्ता दिइएको अवगत गराउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।

प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]