बैशाख ८, २०८१ शनिबार

लिम्बू समुदायको संस्कृति ‘जारी ’

झापा । यही वैशाख १ गतेदेखि प्रदर्शनरत लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको छ । जारी प्रथासँग सम्बन्धित चलचित्रमार्फत कवि-कथाकार उपेन्द्र सुब्बा निर्देशक बन्नुभएको छ । ‘कब्बडी’का श्रृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको जानकारी काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा दिनुभयो ।

“महिला आँटिला र साहासिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मानविना बस्दैनन्”, निर्देशक सुब्बाले भन्नुभयो । महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने-आत्म निर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रह समेत गर्नुभयो । “लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ”, निर्देशक सुब्बाले भन्नुभयो, “कथा त जारीकै हो । तर हामीले युप्पारुङको महत्वबाट देखाएका छौँ । जारी राख्दा सजिलै बुझ्ने भएकाले नाम त्यो राखिएको हो ।”

अभिनेता दयाहाङ राईले कथा पढ्दा नै उत्कृष्ट चलचित्र बन्ने विश्वास जागेको जानकारी दिनुभयो । “मेरो पात्रबारे कथामै स्पष्ट थियो । मेरो पात्र मायालु, रिसाहा, जिम्मेवार सबै छ । त्यसैले यो सम्पूर्ण भाव एउटै दृश्यमा ल्याउन सक्छु कि सक्दिन भन्ने पनि नलागेको होइन्”, अभिनेता राईले भन्नुभयो, “मेरो पात्रलाई जीवन्त बनाउन केही लिम्बू साथीसँग सल्लाह लिए, छलफल गरे । सांस्कृतिक हिसाबले पनि मलाई अभिनय गर्न धेरै सहज भयो ।”

अभिनेता राईले निर्देशक सुब्बासँग ‘कबड्डी’देखि नै सहकार्य गर्नुभएको थियो । त्यो समयमा पटकथाकारको दायित्व निर्वाह गर्दा नै निर्देशक सुब्बाले चलचित्र बनाउने योजना सुनाएको अभिनेता राईले सम्झिनुभयो । “एकैपटक लेखिएको पटकथा ल्याएर मलाई दिनुभयो । मैले उहाँले बनाउन खोजेको चलचित्रलाई कथामा स्पष्ट देखेँ । मलाई यसमा काम गर्नुपर्छ भन्ने लागेर समय निकालेर गरेको हुँ”, उहाँले भन्नुभयो ।

अभिनेत्री मिरुना मगरले आफूभन्दा भिन्न जीवन बाँचेको बताउनुभयो । “मैले काम गरिरहेको चलचित्रको चरित्र र चाहना फरक थियो । म यो समूहले कथा लेखिएको पात्रलाई पर्दासम्म कसरी ल्याएर जीवन्त बनाउँछन् भन्ने सोच्थे र काम गर्ने इच्छा थियो”, अभिनेत्री मगरले भन्नुभयो, “बनावटी स्वरूपभन्दा यसमा प्राकृतिक सुन्दरतामा प्रस्तुत भएकी छु । पात्रलाई महशुस गरेँ । बुझ्न पाएँ ।”

अभिनेता विजय बरालले लिम्बू समुदायअनुसारको चरित्रमा तयार हुँदा केही कठिनाइ भएको बताउनुभयो । “म तराईको मान्छे, मधेस बुझेको छु । तर यहाँ लिम्बू देखिनु र बोल्नुपर्ने । मेहनत गरेर आफ्नो चरित्र तयार गरे। मलाई निर्देशक सुब्बाले सघाउनुभयो”, अभिनेता बरालले भन्नुभयो । बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्रले दर्शक प्रतिक्रिया पनि राम्रो बटुलिरहेको छ ।

प्रकाशित मिति : बैशाख ८, २०८० शुक्रबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]