बैशाख २०, २०८१ बिहीबार

ओलीमाथि पहिचानवादीको आक्रमण प्रयास

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि ढुङ्गा हान्ने दुई जनालाई प्रहारी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये दुई जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताउएका छन् ।

बुधबार झापाको बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न पुगेका ओली माथि पहिचानवादीहरुले कालो झण्डा देखाउँदै हुलहुज्जत गरेका हुन् ।

ओली सहभागी हुने उक्त कार्यक्रमस्थल बाहिर प्रहरी र पहिचानवादीहरु बीच सामान्य झडप समेत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर वरै रोकिएको थियो । त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको रेग्मीले बताए ।

प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् । घटनामा सत्ता पक्षको घुसपैठ भएको भन्दै नेकपा एमालेले संसद् बैठकमा समेत आपत्ति जनाएको छ ।

यस अघि वि.सं. २०५६ सालको आम निर्वाचनमा पनि बुधबारेमा सम्बोधन गर्न आउँदा ओली माथि हुलहुज्जत भएको थियो ।

‘प्रदेशको नाममा हुलहुज्जत बेठिक’ अध्यक्ष ओली

उक्त कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कोशी प्रदेश’को नाममा हुलहुज्जत गर्नु बेठीक भएको बताएका छन् । उनले सबै जातीको पहिचान समान भएकाले आफ्नो मात्र एकल पहिचान खोजेर राष्ट्रिय एकतालाई खलबलाउन नहुने बताएका हुन् ।

उनले प्रदेशको नाम जननिर्वाचित संसदको बहुमतले पारित गरेकोले यसको बिरोधका नाममा हुलहुज्जत गर्न नहुने बताएका हुन् । उनले भने, ‘प्रदेशको नाम संविधान बमोजिम राखिएको छ । कोशी नाममा सबै जातजातिको पहिचान अटाएको छ । धेरै जातजाति र पहिचान भएको ठाउँमा एकल जातीय पहिचानलाई समेट्न सकिदैन ।’

ओलीले भर्खर सम्पन्न उपनिर्वाचनमा आम गठबन्धनको उम्मेदवारलाई जिताउन बहालवाला प्रधानमन्त्री र तीन जना पूर्व प्रधानमन्त्री लाग्दा पनि नसकेको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङग्रेसका सभापती शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई जनताले नपत्याएको बताएका छन् ।

बुधबारेको कार्यक्रमलाई सम्बोधन गरे पछि ईलाम निस्किएका छन् । उनी इलाममा आज हुने पार्टीको परिषद्मा सहभागी हुने छन् । उनी आजै गते साँझ पाँचथरको फिदम बस्ने र त्यहाँ आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । त्यसै गरी भोली (१५ गते) तेह्रथुमको आठराई तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन र तमोरदिप खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए छन् ।

प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]