बैशाख १४, २०८१ शुक्रबार

फाल्गुनन्दमा गैरकानूनी रुपमा शिक्षक नियुक्ती, अहिले अनर्गल प्रचार र भ्रमको सहारा

पाँचथर । पाँचथरको फाल्गुनन्द गाँउपालिकाले गाँउपालिका भित्रका विभिन्न विद्यालयमा शिक्षक नियुक्ती गर्दा आफैँले नै निर्माण गरेको शिक्षा नियमावलीको उपहास गरेको छ ।

यी विद्यालयहरुमा भाषा शिक्षकको नियुक्तीका क्रममा गाँउपालिकाले आफैँले जारी गरेको ‘फाल्गुनन्द गाँउपालिका शिक्षा नियमावली–२०७४’को ब्यवस्थाको उपहास गर्दै परीक्षा सञ्चालन र शिक्षक नियुक्त गरेको हो । उक्त नियमावलीको दफा ५४ ले गाँउपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा करार शिक्षक नियुक्तीका लागि विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको सो समितिको सदस्यको अध्यक्षतामा एक शिक्षक एवं कर्मचारी छनौट समिति गठन हुने र सोही समितिले छनौट तथा नियुक्ती गर्नेे उल्लेख छ । तर फाल्गुनन्द गाँउपालिकाले विद्यालयहरुलाई शिक्षक नियुक्त गर्न पत्र लेखे पछि आफैँ हस्तक्षेप गरी शिक्षक नियुक्ती गरेको खुलेको हो ।

फाल्गुनन्द गाँउपालिकाले विद्यालयहरुलाई २०७६ साउन २९ गते भाषा शिक्षकको दरबन्दी कायम गरिएको जानकारी दिँदै भाषा शिक्षक नियुक्तीका लागि दरखास्त आव्हान गर्न पत्र लेखेको थियो । गाँउपालिकाको पत्रपछि यहाँका केही विद्यालयहरुले शिक्षक छनौट समेत गरिसकेका थिए । तर गाँउपालिकाले केही विद्यालयमा शिक्षक छनौट र नियुक्तीमा हस्तक्षेप गरेपछि विद्यालय ब्यवस्थापन समितिहरु रुष्ट बनेका थिए ।

विद्यालय ब्यवस्थापन समितिको अधिकारमा गाँउपालिकाले हस्तक्षेप गरेपछि असन्तुष्ट विद्यालयहरुको नेतृत्व गर्दै सिद्धेश्वरी माध्यमिक विद्यालय फाल्गुनन्द–४ का ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रकुमार नेम्वाङले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए । विभिन्न ७ विद्यालय ब्यवस्थापन समितिको अगुवाई गर्दै नेम्वाङले दायर गरेको रिटमा उच्च अदालत विराटनगरको इलाम इजलासले सुनुवाई गर्दै तत्कालका लागि शिक्षक नियुक्तीको प्रकृया रोक्ने आदेश समेत दिएको छ ।

विद्यालय ब्यवस्थापन समितिको अधिकारक्षेत्रमा हस्तक्षेप भएको, गाँउपालिकाले आफैँले निर्माण गरेको शिक्षा नियमावली समेत पालना नगरेको, भाषा शिक्षक नियुक्त गर्दा खुला प्रतिस्पर्धा र निश्पक्ष परीक्षा हुन नसकेकाले उच्च अदालतमा मुद्दा दायर गर्नुपरेको नेम्वाङको भनाई छ । २०७६ साल साउन २४ गते सम्पन्न फाल्गुनन्द गाँउपालिकाको गाँउकार्यपालिकाको बैठकले गाँउपालिका भित्रका १६ विद्यालयमा लिम्बू, राई र तामाङ मातृभाषा अध्ययन–अध्यापन गराउने निर्णय गरेको थियो ।

मातृभाषामा अध्ययन–अध्यापन गराउन पाउने निर्णयको विद्यालय ब्यवस्थापन समितिहरुले स्वागत गरेका थिए । तर ब्यवस्थापन समितिको खुसीयाली नसकिँदै गाँउपालिकाले यी स्थानमा शिक्षक नियुक्तीका क्रममा न्यूनतम मापदण्ड पालना नगर्ने, एक दलका कार्यकर्ताको भर्ती केन्द्र बनाउने प्रयास गरेपछि यस्तो हर्कत विरुद्ध कानूनी उपचार खोज्न बाध्य हुनुपरेको विब्यस अध्यक्ष नेम्वाङको भनाई छ ।

नेकपामाथि अवाञ्छित आरोप
फाल्गुनन्द गाँउपालिका शिक्षा नियमावली–२०७४ को दफा ५४ ले स्पष्ट रुपमा भनेको छ ‘सामुदायिक विद्यालयमा करारमा शिक्षक वा कर्मचारी नियुक्तिका लागि सिफारिस गर्न प्रत्येक विद्यालयमा देहाय वमोजिमको एक शिक्षक तथा कर्मचारी छनौट समिति रहनेछ ः (क) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको सो समितिको सदस्य – अध्यक्ष (ख) सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक वा शिक्षा अधिकृतले तोकेको प्रतिनिधि – सदस्य (ग) विद्यालय रहेको वडाको वडा समितिले तोकेको एक जना प्रतिनिधि – सदस्य (घ) सम्बन्धीत विषयको विशेषज्ञ एकजना – सदस्य (ङ) प्रधानाध्यापक –सदस्य सचिव ।’

यस्तै नियमावलीको दफा ५४ को उपदफा २ मा ‘शिक्षक तथा कर्मचारी छनौट समितिको सचिवालय सम्बन्धित विद्यालयमा रहनेछ’ भन्ने उल्लेख छ । यस्तै उपदफा ३ मा ‘शिक्षक सेवा आयोगले शिक्षक वा कर्मचारी छनौट गर्ने सम्बन्धमा मापदण्ड निर्धारण वा कार्यविधि जारी गरेको भए शिक्षक छनौट समितिले त्यस्तो मापदण्ड वा कार्यविधिको पालना गर्नु पर्नेछ’ भन्ने उल्लेख छ ।
यति मात्रै नभई उपदफा ४ ले शिक्षक तथा कर्मचारी छनौटको सम्पूर्ण विषयलाई अझै स्पष्ट पारेको छ । उक्त उपदफामा भनिएको छः– शिक्षक तथा कर्मचारी छनौट समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैँले निर्धारण गरे वमोजिम हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध रहेका नेम्वाङको नेतृत्वमा गाँउपालिकाको शिक्षक नियुक्ती प्रकृयालाई कानूनसम्वत वनाउने प्रयत्न गर्दा नेकपालाई मातृभाषाको विरोध गरेको आरोप लगाइएको भन्दै नेकपा फाल्गुनन्दले भत्र्सना गरेको छ । नेकपाले गैरकानूनी प्रकृयाको विरोधलाई मातृभाषा पठन–पाठनको विरोध गरिएको भनि फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा फाल्गुनन्द गाँउपालिका कमिटीले गाँउपालिकाले शिक्षा ऐन नै नबनाई नियमावली बनाइएको, ऐन विनाको नियमावलीका आधारमा शिक्षक एवं कर्मचारी नियुक्त गरिएको, नियमावली गाँउपालिकाको राजपत्रमा प्रकाशन नभएको, शिक्षक नियुक्तीको अधिकार विद्यालय ब्यवस्थापन समितिमा रहेको र अन्य स्थानीय तहमा समेत विद्यालय ब्यवस्थापन समितिले नै शिक्षक नियुक्त गर्दै आएकाले फाल्गुनन्दमा अपनाइएको प्रकृया गैरकानूनी रहेकाले स्पष्ट पारेको छ ।

नेकपा फाल्गुनन्द गाँउपालिका कमिटीका अध्यक्ष वीरबहादुर कुरुम्बाङले प्रेस विज्ञप्ति जारी गर्दै स्वेच्छाचारी ढङ्गबाट शिक्षक एवं कर्मचारी नियुक्त नगर्न गाँउपालिकाको ध्यानाकर्षण गराउनुभएको छ । नेकपाले गाँउपालिका भित्रका १६ वटा मात्रै नभई उपयुक्त हुने सबै विद्यालयहरुमा मातृभाषा शिक्षा लागू गर्न माग समेत गरेको हो ।

नेकपा फाल्गुनन्दले मातृभाषामा शिक्षा लिन पाउने अधिकारका लागि लडेको पार्टीलाई मातृभाषा विरोधी भन्दै सामाजिक सञ्जालमा ब्यक्त भ्रामक र अनर्गल प्रचारको पछि नलाग्न आग्रह गरेको छ । उपनिर्वाचनमा भ्रम छर्न विगतमा कानूनको धज्जी उडाउने नेपाली काँग्रेस लगायत दलहरु नै अहिले नेकपा विरुद्ध भ्रम छर्न उद्दत रहेको जनाउँदै गाँउपालिकावासीलाई कुनैपनि भ्रममा नपर्न नेकपा गाँउपालिका कमिटीले आग्रह गरेको छ ।

यस विषयले सामाजिक सञ्जालमा समेत चर्को रुप लिएको छ । गाँउपालिकाको गैरकानूनी प्रकृयालाई कानूनसम्मत बनाई मातृभाषामा पठन–पाठन गर्ने ब्यवस्थालाई प्रभावकारी बनाउन विद्यालय ब्यवस्थापन समितिहरुले लिएको अग्रसरताको प्रसंशा हुनुपर्ने भएपनि मातृभाषा विरुद्ध लागेको जस्ता सुनियोजित आरोपहरु लगाइएको छ ।

स्थानीय तहहरुमा वेथिति, भ्रष्टाचार, अनियमितता र आफ्ना मान्छे भर्ती गर्ने क्रम बढिरहेको सन्दर्भमा फाल्गुनन्दका विद्यालय ब्यवस्थापन समितिहरुले मातृभाषा पठन–पाठनका लागि निश्पक्ष परीक्षा प्रणालीद्वारा दक्ष जनशक्तिलाई नियुक्त गर्न माग गर्नुले मातृभाषा पठन–पाठनलाई प्रभावकारी तुल्याउने उद्देश्य बोकेको स्पष्ट छ । नेकपाले वेथितिको अन्त्य गर्ने कदमलाई समर्थन गरेपछि वेथिति भित्रैबाट फाइदा लिँदै आएकाहरुले सामाजिक सञ्जालमा नेकपामाथि भ्रामक प्रचार गरेको पाइएको नेकपाका नेताहरुले स्पष्ट पारेका छन ।

प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]